---Advertisement---

आज विजयादशमी, टिका र जमरा प्रसादको रुपमा ग्रहण गर्ने दिन

On: October 24, 2023 9:25 AM
Follow Us:

आज विजयादशमी अर्थात् बडादसैँको टिका र आशिर्वाद थाप्ने दिन। ९ दिनसम्म नवदुर्गाको पूजा आराधना पछि आज दसैँ घरमा राखिएको जमरा र टिका थाप्ने क्रम सुरु भएको छ। आजको दिन रातो टिका र जमरा प्रसादको रूपमा मान्यजनको हातबाट ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ः०२ बजेको साइत टिकाका लागि उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ।

समितिले टिका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ। दुर्गा विसर्जन गर्नका लागि समितिले १० बजेर ३७ मिनेटको साइत तोकिदिएको छ। कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउन सकिने छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।