बेनी नगरपालिका-३ भकिम्लीकी १८ वर्षीय विपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा मारुनी नाच्नुहुन्छ । बावु आमा र बाजेबाट सानै उमेर देखि विपनाले मारुनी नाच्न सिक्नुभयो ।

मलाई मारुनी नाच्न राम्रो सँग आउँछ विपनाले भन्नुभयो, ‘‘हाम्रो कला संस्कृति संरक्षण गर्नुपर्दछ भनेर अभिभावकबाट मारुनी नाच्न सिकेकी हुँ ।’’ जातिय पहिरनमा सजिएर मारुनी नाच्दा गौरबको अनुभूति हुने विपनाले बताउनुभयो ।

त्यस्तै पाका पुस्ताबाट मादले नाच सिकेको बताउँनै २६ वर्षीय पुर्ण थापाले मादले नाच नाच्न थालेको दुईवर्ष भयो । मगर तथा छन्त्याल समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने मादले–मारुनी नाच जोगाउन पाका पुस्ताले युवा पुस्तालाई सिकाउन थालेका छन् । संस्कृति लोप हुनबाट जोगाउन युवा पुस्तालाई सिकाउन थालिएको स्थानीय ७८ वर्षीय कुविर थापामगरले बताउनुभयो ।

भकिम्लीमा निर्माण गरिएको नवनिर्मित २२ कोठे भवनको उद्घाटनका अवसरमा भकिम्लीको डोले,चिनाखेत र मुसुङ गाउँबाट आएका पुख्र्यौंली नाच समुहले आ–आफनो मादले मारुनी नाच प्रदर्शन गरे । गाउँमा आयोजना हुने विभिन्न कार्यक्रम,विवाह,क्षवर,र,छैटौ लगायतका धार्मिक पर्वहरुमा सोरठी भाका सहित मादले र मारुनी नाच देखाउने प्रचलन रहेको लालविर छन्त्यालले बताउनुभयो ।

गाउँमा आयोजना हुने हरेक कार्यक्रमहरुमा पुख्र्यौली संस्कृतिका रुपमा रहेको मादले–मारुनी नाच्ने प्रचलन रहेको उहाँले सुनाउनुभयो । सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने प्रचलन रहेको उहाँ बताउनुहन्छ ।

दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई जीवन्त राख्न भकिम्लीका स्थानीयहरु जुटेका छन् । भकिम्लीको ढोले,चिनाखेत र मुसुङका मगर र छन्त्यालहरुले पुख्र्यौली नाच समुह गठन गरेर संरक्षणमा जुटेका छन् ।

हाम्रो संस्कृति समाजकै पहिचान मानेर अन्य जातिका समुदायले पनि सिक्न थालेका छन, स्थानीय मनबहादुर पुनले भन्नुभयो, ‘‘आजकल मगर र छन्त्याल वाहेक अन्य जातिका युवाहरुले पनि सिक्न थालेका छन् ।’’

पुरानो कला संस्कृतिको संरक्षण होस् भनेर बुढेसकालमा पनि मारुनी नाच्न छाडेको छैन पुनले भन्नुभयो, ‘‘७ वर्ष देखि नाच्न थालेको हुँ अहिले ७४ वर्षको भए अझै जोसिलो तवरले नाच्ने गरेको छु । आजकल नयाँ पुस्ताले पनि चासो दिन थालेकाले खुसी मिलेको छ ।’’

सोरठी भाका सहित नाच्ने र गाउँने गरेर कम्तिमा दश देखि १५ जना कलाकार आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । सोरठीको १६ वटा फरक फरक हाँगाहरुमा गीत गाउने गरिन्छ । युवालाई पनि नाचको ताल, सोरठीका भाकाहरु सिकाउन थालिएको लालविर छन्त्यालले बताउनुभयो ।

सोरठी गीत निकै लामो हुनेगर्दछ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । सोरठी ७ रात ७ दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता रहेको उहाँ बताउनुहुन्छ ।

महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी भांङ्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।

नाच सुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् । तर, पूर्ण रुपमा अचेत नभए पनि स्वतःस्फूर्त रुपमा मादलको तालले उनीहरुका शरीरमा कम्पन ल्याउने र काम्ने गर्दछन् । छन्त्यालका उहाँका अनुसार नाच सुरु हुनु पूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरुमा मादलको २२ ताल पुगेपछि मात्रै आफैं कम्पन हराउने गर्दछ ।

Leave a Reply