एउटा नेपालीमा उखानै छ,‘मौका आएको बेलामा चौका हान्नुपर्छ’। म्याग्दीमा चल्ने लामो तथा छोटा दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनले दशैंको मौकमा मनलाग्दी भाडा असुल गरिरहेका छन् । दशैं मनाएर गन्तब्यतर्फ फर्किने र विभिन्न जिल्लाबाट म्याग्दी भित्रिने यात्रुबाट तोकिएको भन्दा तेब्बर भाडा असुल्ने गरेको गुनासो आउँदा समेत सम्बन्धित निकाय मौन देखिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि पोखरा चल्ने ट्याक्सीले प्रति यात्रु २ हजार रुपैयाँसम्म र रिजर्भमा ८ हजारसम्म लिने गरेको यात्रुको गुनासो छ । ‘पोखराबाट फर्किने यात्रु हुदैनन्, रित्तै फर्किनुपर्छ,‘चाडपर्वमा सधै महंगो हुन्छ’ बेनीबाट छुट्ने एक ट्याक्सीका चालकले भने ।

दशैको दिनदेखि यता आन्तरिक रुटमा टिकट नकाटी चल्ने बोलेरो र यात्रु बोक्ने निजी सवारीसाधनले समेत चाडपर्व अगाडीभन्दा महंगो भाडा लिने गरेको गुनासो गरिएपनि सम्बन्धित निकायले अनुगमन सहितका कार्यहरु अगाडी बढाएको छैन् ।

‘चाडपर्वमा नयाँ भाडा हुन्छ,‘तोकिए अनुसारको तिरे लैजान्छौ नत्र सकिदैंन भन्ने जवाफ आउँछ’ एक यात्रुले भने । कालिपुल, बेनी नगरपालिका अगाडीबाट यात्रुलाई महंगो भाडा लिने गरिएको भन्दै यात्रुले ट्राफिक प्रहरी सहित अन्य सरकारी निकायबाट समेत प्रभावकारी अनुगमनको माग गरेका छन् ।

बेनीदेखि पोखरासम्म ट्याक्सीमा प्रति ८ सय तिनुपर्नेमा अहिले २ हजारसम्म लिने गरेका छन् । जिल्ला बाहिरबाट आएका सवारीसाधनले समेत आफुखुसी भाडा लिने गरेको अवस्थामा बेनी–पोखरा सडकमा छड्के चेकजाँच गर्दा नै अवस्था छर्लङ हुने यात्रुको भनाई छ ।

यात्रुको गुनासो सुन्न प्रहरीले कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष भएपनि यात्रुले समेत गुनासो नदिदाँ समस्या भएको जिल्ला टफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले यात्रुलाई तोकिएको भन्दा धेरै भाडा लिने लामो तथा छोटा दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनका बारेमा जानकारी दिए तत्कालै कारवाही गर्ने र अनुगमन समेत भइरहेको बताएको छ ।

यता जिल्लाको ग्रामिण क्षेत्रमा समेत कोचाकोच यात्रु बोक्ने क्रम रोकिएको छैन् । दशैं मानेर फर्किएकाहरुलाई सिट क्षमताभन्दा धेरै यात्रु बोकेर गन्तब्यतर्फ जाँदा दुर्घटनाको जोखिम बढेको छ ।

 

 

Leave a Reply