म्याग्दीको रघुगंगा गाउँपालिका-१, बाँदुकको कल्लेरी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बाँदुकको कल्लेरीमा बाँझो जमिन र भिरपाखा फडानी गरेर करिब १ सय ३० रोपनी जमिनमा फलफुल खेती गरिएको छ । करिब आधादशक अगाडीसम्म जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर सुन्तलाको बोट देखिन्छ ।

करिब डेढदशक अगाडी माथिबाट खसेको पहिरोले १ जनाको घटनास्थलमै ज्यान लिएको र ३ घरधुरी विस्थापित भएको कल्लेरीको बाँझो र भिरालो जमिनमा अहिले १७ सय बोट सुन्तला, १ सयभन्दा बढी एभोगाडा, ३ वटा जर्सी गाई पालन गरिएको छ ।

कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा उत्पादन हुने अन्य फलफुल खेती समेत गरिएको छ ।

करिब ४ बर्ष अगाडी बाँदुक सामुहिक कृषि फार्मको स्थापना गरी बाँदुक गाउँको तल र बेनी–जोमसोम सडकखण्डमा पर्ने तिप्ल्याङ गाउँबाट नजिकै रहेको कल्लेरीको बाँझो जमिन स्थानीयले सदुपयोग गरेपछि अहिले त्यहाँ पुग्ने जोकोहीको ध्यान सुन्तला बगैँचाले तान्ने गरेका छन् ।

बाँदुक गाउँबाट स्वदेश तथा विदेशमा रहेका स्थानीयको अगुवाईमा सुरू भएको सामुहिक खेतीको क्रममा सुन्तला खेतीका लागि जमिन सम्माउन करिब ३३ लाखभन्दा बढी खर्च भएको थियो।

जग्गाधनीले फलफुल र पशुपालनका लागि उत्पादनले बजारीकरण नपाउँदासम्म जग्गाको भाडा समेत निशुल्क गरेका छन् । गाउँमा रहेकालाई रोजगारी दिन तथा सुन्तला खेतीको प्रचुर सम्भावना भएको बाँझो जमिनको सदुपयोग गरिएको बाँदुक सामुहिक कृषि फार्मकका सञ्चालक बेगबहादुर पूर्जाले बताए ।

कृषि फार्ममा सिजनमा १५ जना र नियमित २ जनाले प्रत्यक्ष रोगजारी पाएका छन् । हालसम्म ५५ जनाले प्रतिब्यक्ति १ लाख र ५ जनाले ५० हजार सेयर हालेका छन् । प्रत्येक बर्ष हरेक सेयर सदस्यले २५ सय रुपैयाँ थप गर्नुपर्ने नियम छ ।

कृषि फार्मामा रहेको तीनवटा जर्सी गाईबाट मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको  फर्मका सदस्य लोकेन्द्र गर्बुजाले बताए । आगामी दिनमा थप २ हजार सुन्तलाको बोट विस्तार र उन्नत जातको गाई समेत थप गर्ने योजना रहेको छ।

यता वडा अध्यक्ष बिल फगामीले करिब प्रयोगविहिन अवस्थामा पुगेको जमिनलाई स्थानीयले सदुपयोग गरेको बताए । उनले अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्थामा प्राथमिकता दिने बताए ।

Leave a Reply