चारैतिर घनाजङ्गल । जङ्गलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको दुई सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फूलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखैँ अगाडि देखिने दृश्य हो यो ।

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको शिरमा छ बेलढुङ्गा ।    समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा आन्तरिक पर्यटकको भीड लागेको छ । गतवर्ष सात हजार आन्तरिक पर्यटक बेलढुङ्गामा पुगे ।

पदमार्ग र साइकल लेन बनेपछि हाइकिङलाई बेलढुङ्गा गन्तव्य बनेको स्थानीय रत्न जिसीले बताए । टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङलाई दैनिक सय हाराहारी पर्यटक आउछन् ।

बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरिका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षी देख्न सकिन्छ । साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाअध्यक्ष पदम पुनले बताए ।

बेलढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका–३ र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको ४० लाख बढी खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ । अहिले गुलजार बनेको बेलढुङ्गा एक दशक अघिसम्म गुमनाम थियो ।

सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको छ ।हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ ।

दुईवर्ष अघिसम्म बेलढुङ्गाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुङ्गाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुन्निदै बेलढङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । म्याग्दीको सीमाना तर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म बेनीनगरपालिका–३ को करिब चार लाख र त्यहाँदेखि बेलढुङ्गासम्म दुवै वडाको दुई/दुईलाखको गरी करिब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ ।

ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्न सकिन्छ । अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उनले बताए।

स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताए। पाहुनालाई स्थानीय उत्पादन कोदोको सेल रोटी, लोकल कुखुराको मासु, आलु लगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ।

Leave a Reply