बेनी, १२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो ।

याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा ल्याएर होटल सञ्चालन गरिएको जानकारी दिनुभयो । “होटल याक बेनीबाट गलेश्वरमा स्थानान्तरण भएको छ,” उहाँले भन्नुभयो “म्याग्दी, मुस्ताङ घुम्न आउने पाहुना र पर्यटकलाई लक्षित गरेर गलेश्वरमा आफ्नै भवन बनाएर होटल स्थानान्तरण गरिएको हो ।” पानी, बत्ति र फर्निचर जडानको काम सकिएपछि थप १४ वटा कोठा पनि सञ्चालन हुने प्रबन्धक सुवेदीले बताउनुभयो ।

चार÷चार वटा स्विट र डिलक्स कोठा रहेको होटलका सबै कोठामा एट्याच बाथरुम सहितका छन् । तातोचिसो पानी, टिभी, इन्टरनेटको सुविधा भएको होटलका संरचनालाई अपाङ्गमैत्री बनाएको सुवेदीले बताउनुभयो । एक दिनमा १५० जना बास बस्न सक्ने क्षमता रहेको छ । होटलको पाहुना बस्ने घर, किचन र डाइनीङ हल फरक फरक छन् । १०० जना क्षमताको सभाहल तयार हुदैछ ।

सभाहलको छेउमा बैठक कक्षका लागि दुई वटा कोठा राखिएको छ । पार्किङको पनि सुविधा छ । शान्त वातावरण होटलको अर्को विशेषता हो । होटल सञ्चालनका लागि २ रोपनी क्षेत्रफल जग्गामा भवन बनाइएको छ । यसअघि ९ वर्षसम्म बेनीको अस्पतालचोकमा भाडाको घरमा याक होटल सञ्चालन भएको थियो । याक होटलका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम) करिब पाँच वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि वि.स. २०६४ मा बेनीमा नमस्ते होटल स्थापना गर्नुभएको थियो ।

साउदीमा रेष्टुरेन्टमा काम गरेको अनुभव र सिपलाई प्रयोग गरेर मंगला गाउँपालिका–१ पूर्ण गाउँका आचार्यले स्वदेशमा स्वरोजगार र अरुलाई रोजगारी दिनुभएको छ । सो होटलमा हाल २२ जनाले रोजगारी पाएका छन् । पाहुनाहरुको इच्छा र चाहना अनुसार सुविधायुक्त होटल सञ्चालन गरेको सञ्चालक आचार्यले बताउनुभयो । बेनी बजारदेखि तीन किलोमिटर उत्तरतर्फ रहेको गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेश विन्दु हो । गलेश्वरको प्रवेश बिन्दुमा याक होटल खुलेको छ

। याक होटलको कोठाबाटै गलेश्वर मन्दिर अवलोकन गर्न सकिन्छ । होटलमा स्थानीय उत्पादनको कोशेली घर पनि सञ्चालन गर्ने तयारी भएको छ । गलेश्वरमा दुई वर्षअघि होटल ताजमहल खुलेको थियो । प्याराडाइज र रिभरसाइड होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्र गर्ने तयारी भएपछि गलेश्वर क्षेत्रमा होटलमा लगानी बढेको छ । पुराना होटलले क्षमता बढाएका हुन् ।

Leave a Reply