चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा विदेशिएका छन् ।
साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको संख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्रेतीले दिए । भदौमा ५० हजार आठ सय ८४ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो ।
तथ्यांकअनुसार असोज महिनामा मात्रै जिल्लागतको क्रममा सबैभन्दा बढी दुई हजार ६ सय ७३ जना युवाहरू झापाबाट वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । त्यस्तै, धनुषाबाट दुई हजार ६ सय २९ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ । मोरङबाट दुई हजार तीन सय १८, सिराहाबाट दुई हजार एक सय १३, महोत्तरीबाट एक हजार आठ सय ६०, रूपन्देहीबाट एक हजार सात सय ८३ र सर्लाहीबाट एक हजार पाँच सय ५९, सप्तरीबाट एक हजार तीन सय ५५, चितवनबाट एक हजार तीन सय ५२ जना र कपिलवस्तुबाट एक हजार एक सय ९४ जनाले श्रम स्वीकृति लिई बिदेसिएका छन् ।
मागअनुसार सम्बन्धित देशमा नेपाली कामदार जाने गरेको अधिकारीहरू बताउँछन् । ‘जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यहीँ धेरै जाने हुन्,’ सूचना अधिकारी उप्रेतीले भने ।
नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको पनि अधिकारीहरू स्वीकार्छन् । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ । त्यसैगरी, कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन् । म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से र परामर्शदातालगायतका रूपमा पनि जाने गरेको तथ्यांकले देखाएको छ ।
‘हाम्रा अधिकांश कामदार अदक्ष हुने गरेका छन्, जसका कारण उनीहरूले पाउने तलब, सुविधा पनि कम नै हुने गर्छ,’ सूचना अधिकारी उप्रेतीले थपे । घरेलु हिंसामा पर्ने, अलपत्र पर्ने नेपाली कामदारको उद्धारमा पनि राज्यको समय र रकम खर्च हुने गरेको अधिकारीहरू बताउँछन् । यो अवस्था सुधारका निम्ति प्रयास जारी रहे पनि अझै अपेक्षित उपलब्धि हुन नसकेको उप्रेतीको भनाइ छ । तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रम बजारमा भन्दा पनि जहाँबाट माग आयो त्यहीँ नै नेपालले कामदार पठाउने प्रवृत्ति रहेको कतिपय विज्ञ बताउँछन् । ‘एकातिर अदक्ष कामदार बोलाउँदा कम पैसा दिनुपर्ने भएर गन्तव्य मुलुकले फाइदा देख्ने भए भने अर्कोतिर नेपालमै रोजगारी नभएकाले वैदेशिक रोजगारीमा पठाइहाल्ने प्रवृत्ति भएको विभागका अधिकारीहरूको भनाइ छ ।
वैदेशिक रोजगारीका लागि असोज महिनामा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । युएईका लागि १३ हजार नौ सय पाँचजना र साउदी अरेबियाका लागि ११ हजार एक सय २३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसैगरी, कतारका लागि १० हजार ६ सय १० जना र मलेसियाका लागि सात हजार नौ सय नौ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मलेसिया भन्दा खाडी देशतिर बढ्न थालेको छ ।
कुवेतमा तीन हजार सात सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै माल्टामा एक हजार एक सय ६० जनाले स्वीकृति लिएका छन् । जापानमा एक हजार ४८ जना, क्रोसियामा नौ सय ७० जना, रोमानियामा सात सय चार जना, बहराइनमा ६ सय आठ जनाको स्वीकृति जारी भएको छ । त्यस्तै साइप्रसमा ५ सय ३३ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । असोजमा बिदेसिएका अधिकांश नेपाली युवा दक्ष योग्यताका छन् । विदेसिने क्रममा दक्ष योग्यताका ३८ हजार सात सय ३८ जना रहेका छन् भने अदक्ष योग्यताका १२ हजार पाँच सय २६ जना नेपाली युवा रहेका छन् ।
दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका चार हजार आठ सय आठजना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका एक सय चार र उच्च दक्षता हासिल गरेका ५९ जना वैदेशिक रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ । nagarknews.com