म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ सातविसेमा एभोकाडोको घाँस खाएर ९ वटा बाख्रा मरेका छन् । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक खगिन फगामीको फार्ममा रहेका बाख्रालाई घाँसको रुपमा एभोकाडोको पातमा खुवाउँदा ६ वटा बोयर र ३ वटा स्थानीय बाख्रा मरेको भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

बोयर बाख्रापालनमा सक्रिय रहेका स्थानीय यूवा फगामीको फगामी एग्रिकल्चर फार्ममा कार्यरत मजदुरले दुईदिनसम्म लगातार दिएको एभोकाडाको घाँसबाट करिब डेढ लाख पर्ने बोयर बोका सहित अन्य बाख्रा मरेको बताइएको छ । केन्द्रका अधिकृत सुवास रेग्मीले एभोकाडोको पात, फल, बीउ र बोक्रा विषालु हुने बताए ।

फार्मभित्र मरेका बोका र बाख्राको पोस्टमार्टमबाट समेत विषालु घाँस खाएको देखिएको अधिकृत रेग्मीले बताए । मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । एभोकाडोको पात सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ ।

पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा समेत एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिने र पशुहरुमा बान्ता र पखाला पनि लाग्न बताइएको छ ।

म्याग्दीको ग्रामिण क्षेत्रमा एभोकाडो लगाउन थालिएको अवस्थामा पशुपालक कृषक सचेत हुनुपर्ने भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । फगामी एग्रिकल्चर फार्ममा मरेका बाहेक अन्य बाख्रामा भने कुनै समस्या नभएको बताइएको छ ।

Leave a Reply