पचासी वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोराबुहारी र नातिनातिनीसँगै रमाएर बसे।
पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि पोखरा हिँडेपछि अहिले उनी अहिले घरमा एक्लो छन्। श्रीमतीको मृत्युपछि एक्लै रहँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन। पोखरामा बस्ने छोराबुहारीले पनि कुनै कुराको कमी हुन दिएका छैनन्। एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो। छोराबुहारीले घिमिरेलाई आफूसँगै पोखरामै बस्न निकै कर गरे पनि उनी आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मान्नुभएन।
सोही गाउँका ८६ वर्षीय खड्गबहादुर घिमिरे, ८८ वर्षीय बेदप्रसाद उपाध्याय, ९९ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि त्यस्तै अवस्था छ। उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्।
चारवर्ष अघि आफ्नो ३६ वर्षीय छोराको कोरोनाका कारण मृत्यु भएपछि बेदप्रसाद एकोहोरिएका छन्। बेनी बजारमा व्यापार व्यवसाय गरेर बस्ने छोराको अचानक मृत्यु भयो । माइलो छोरा पाँच वर्षदेखि सम्पर्कविहीन छन्। वैदेशिक रोजगारीका लागि पाँच वर्षअघि युएईमा गएका विदुर न फोन गर्छन् न घर नै आउँछन्।
उनका श्रीमती र छोरा छन्। श्रीमती माइतीमा बसेकी छन्। माथिका यी प्रतिनिधिपात्र मात्र हुन्। अहिले गाउँका वृद्धवृद्धाको काल पर्खने र दिन कटाउने ठाउँ आफ्नै थातथलो बनेको छ । गाउँ वृद्धाआश्रममा परिणत हुँदै जान थालेको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानी मगरले बताए।
दसैं मनाउनका लागि विदेश र सहरबाट गाउँमा आएका युवा आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर सुनसान हुन थालेको उनको गुनासो थियोे ।
वृद्धवृद्धा गाउँ कुरुवा
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ । ती २६ घरमा एक सय नौ जना छन् । तीमध्ये युवाको सङ्ख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन् । बेनी नगरपालिका–२ बगरफाँटमा एक सय ६९ घर छ । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन ।
यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् तर यहाँका अनेकौंँ सम्भावनाप्रति स्थानीय युवाको कुनै रुचि छैन । यहाँका युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायत मुलुकमा पुगेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदीअरब, कतार, युएईलगायत मुलुकमा पनि प्रशस्तै युवा छन् । रहेबचेका युवा कोही सहरतिर छन् । दसैंँ मनाउन जापानबाट पाँच युवा गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीयवासी सुनिल थापाले बताए।
नौ वर्ष जापान बसेर गाउँ फर्किएका उनी अहिले गाउँमा नै व्यवसाय गरेर बसेका छन्। थापालगायत १२ जना युवा मात्रै अहिले गाउँमा छन्। तीमध्ये पनि सात युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उनले बताए।
गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको सङ्ख्या दुई सयभन्दा बढी छ । महिला र विद्यालय जाने उमेरका बालबालिका घरमा छन् । युवाको सङ्ख्या अत्यन्तै न्यून रहेको अर्का स्थनीयवासी टेकबहादुर कार्कीले बताए।
“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन्” उनले भने “मर्दापर्दा र बिमार हुँदा खबर गर्ने मान्छे गाउँमा छैनन् ।”
सुविधा भएर पनि गाउँका युवा विदेशमा
विसं २०६० मा तत्कालिन नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेपछि यहाँको भौतिक विकासमा पनि परिवर्तन आयो । त्यसअघि लाहुरेहरुको जिल्ला भनेर मात्र चिनिने म्याग्दीको परिचय पनि फराकिलो बन्दै गयो । विकासका पूर्वाधार ठडिन थाले । सडक र संचारको विकासले सहरको सुविधा र अवसर गाउँ गाउँमा पुगेपनि यहाँका युवाहरुका लागि विदेशिने बहाना बनिरहयोे ।
विसं २०७८ मा गरिएको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार सङ्ख्या २८ हजार आठ सय ३० रहेकामा कूल जनसङ्ख्या एक साख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कूल परिवार सङ्ख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कूल जनसङ्ख्या एक लाख १३ हजार ६ सय ४१ रहेको थियो । २०७८ को जनगणनाअनुसार परिवार सङ्ख्या बढेको भए पनि जनसङ्ख्या भने घटेको छ ।
पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार तीन दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात एकसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ ।
त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शून्य दशमलव ५७ प्रतिशत रहेको जिल्लास्थित तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कूल परिवार सङ्ख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ।
यसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला एक हजार आठ सय पाँच रहेकामा कूल जनसङ्ख्याको शून्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ । अहिले गाउँमा कपाल सेताम्य फूलेका बुढा बाआमा मात्र भेटिन्छन् । कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरीर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहारसुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन् ।
अधिकाशंको काठमाडौँ, चितवन, पोखरा र बेनी बजारमा घर छ । पुराना मानिसमा बुढ्यौली लागे पनि आँफू जन्मे हुर्केका थाँतथलो छोड्न तयार छैनन् । बरु उनीहरु सन्तानको भावी जीवनका लागि आँफ्ना बुढेसकालका पीर र व्यथा लुकाउन चाहन्छन् । गाउँहरु वृद्धाआश्रम जस्तै बन्दै गएपछि संस्कार,संस्कृति र परम्परा पनि हराउँदै जान थालेका छन् ।