पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ ।

जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटकको आकर्षण बनेको हो ।

बिहिबार टोड्केको भ्रमणमा पुगेका म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददिवल खड्का र उपाध्यक्ष दिपक केसीले टोड्ेको मुलाको बजारीकरणसँगै यहाँ आउने पर्यटकलाई समेत आर्कषित गर्न सकिने बताएका थिए । मोनाका अध्यक्ष खड्का र उपाध्यक्ष केसीले त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेकाले स्थानीय समेत उत्साहित भएको बताए ।

टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गरिएकोमा खुसी ब्यक्त गरे । हरेक पर्यटकले त्यहाँबाट अनिवार्य मुला किनेर आउने ब्यवस्था मिलाउन सकेमा बजारको अभाव नहुने स्थानीयको भनाई छ ।

टोड्केका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् ।

पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ ।

भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको स्थानीय महिला उद्यमी तीजमाया पाइजाले बताइन् । एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् ।

मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको छ ।टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन् ।

Leave a Reply