म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले म्याग्दी जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसारमा समेत सघाउने भएको छ ।

गएको असोजमा सम्पन्न भएको पाँचौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लामा ओझेलमा परेका पर्यटकीयस्थलको भ्रमणसँगै स्थानीय सरोकारवाला निकायसँगको भेटघाट र पूर्वाधार विस्तारमा समेत सहकार्य गर्ने बताए ।

‘बार्षिक कार्ययोजनाको तालिक बनाउँदैछौ, हामीले पर्यटकीयस्थलसम्म पुगेर प्रचारप्रसारको अभियानलाई समेत जोड्छौ’ अध्यक्ष खड्काले भने । उनले प्रवासबाट आएका म्याग्देलीलाई पर्यटकीयस्थलसम्म पुग्ने क्षेत्रहरु पहिचान गरी मोनामार्फत घुम्न जाने वातावरण समेत बनाउने बताए ।

म्याग्दीमा थुप्रै पर्यटकीयस्थल ओझेलमा परेको अवस्थामा प्रवासबाट घरमा आएको अवसरलाई पर्यटकीयस्थलको प्रचारप्रसार तथा नियमित कार्यतालिकाहरु समेत बनाउन स्थानीय सरकारसँग समेत सहकार्य गरिने बताए ।

मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्केमा पुगेका अध्यक्ष खड्का, उपाध्यक्ष दिपक केसी सहितको टोलीले स्थानीयसँग सम्भावनाका बारेमा समेत छलफल गरेका थिए ।

मोना अन्तराष्ट्रियका उपाध्यक्ष केसीले राम्रा पर्यटकीयस्थलहरु समेत अहिले सुनसान देखिनु दुखद् भएको बताउँदै मोनाको पर्यटकीयस्थल घुमाघामको अभियानलाई पुर्वाधार र प्रचारप्रसारसँग जोडेर लैजानुपर्ने बताए । उनले टोड्के विश्वभरकै पर्यटकलाई भित्राउने आर्कषक गन्तब्य बन्न सक्ने भएपनि ब्यवस्थित सडक सञ्जाल नहुदाँ समस्या रहेको बताए ।

सरोकारवालाहरुले पदमार्ग विस्तार र पूर्वाधार निर्माण गरी प्रर्याप्त प्रचारप्रसार गर्न सक्ने हो भने टोड्के म्याग्दीको पुनहिल र घोडेपानी जत्तिकै चर्चित पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको बताइएको थियो ।

समुद्री सतहदेखि झण्डै २ हजार पाँच सय मिटरको उचाइमा बनको विचमा रहेको टोड्केबाट उत्तरतर्फ आँखा डुलाउँदा धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ।

दृष्यावलोकन तथा सूर्योदय हेर्नका लागि निकै उपयुक्त मानिने पर्यटकीयस्थल यहाँ टोड्के हिल रिसोर्ट प्रालिद्वारा ३ करोडको लागतमा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपनि सडक र प्रचारप्रसारको अभावले प्रभावकारी बन्न सकेको छैन् ।

Leave a Reply