बेनी, १७ कात्तिक । वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका बेनीका एक व्यक्तिको पहिचान फेरिएको छ ।

विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका उनले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराएका थिए ।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खालीहात स्वदेश फर्केका थिए । गाउँ फर्किएपछि विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनले अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन् ।

विगत १२ बर्षदेखि बाख्रापालन गर्दै आएका श्रीसले बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन् ।

श्रीसको फार्मबाट वार्षिक करिब रु २५ लाख बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ ।

“दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाखसम्म पथ्र्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाखसम्मको कारोबार गरेको थिएँ तर अहिले मूल्य घटेको छ, एउटैको ८० हजार आउन पनि कठिन छ”, श्रीसले भने । बाख्रापालनबाटै नमूना कृषकको रुपमा पहिचान बनाउनुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीलाई फार्मको पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।

हाल उनको फार्ममा करिब दुई करोड लगानी भइसकेको छ । छिटो–छिटो हुर्कने बोयर जातका बाख्रापालन गर्दै आएको श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् । तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनले बताए ।

बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन् । व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन् । रासस

Leave a Reply