राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो ।

दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडकखण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ ।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार २०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा–अवरोध सिर्जना भएकाले ढिला भएको बताए । थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअुनसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो ।

ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि धमाधम काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भए पनि फेरि दसैँदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । तेह्र किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूला–ठूला खाडल, हिलो र ढुङ्गा तथा पहिराका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । रासस

Leave a Reply