अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास छ मालिका, कालिका र जालपको । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ ।

एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार विस्तार गरिरहेका छन । सडक सञ्जाल र पदमार्ग सहित थप पूर्वाधार विस्तारका लागि समेत बजेट विनियोजन गरेको मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

मालिकाधुरीलाई धार्मिकस्थलसँगै अन्य समयमा पर्यटकलाई समेत आर्कषित गर्ने थप संरचना सहित पर्यटकलाई आर्कषित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अगाडी बढ्ने बताए । धार्मिक बाहेक पदयात्रामा रमाउने पर्यटकलाई जंगल सफारी सहित रातको समयमा सुविधाका लागि निजी क्षेत्रसँग समेत सहकार्य गरी पूर्वाधार बनाउन समेत स्थानीय तहले पहल गरेका छन् ।

मालिकाधुरीमा बैशाख, जेष्ठ र कात्तिक पूर्णिमामा पूजा गरिन्छ । भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर बर्षेनी १० हजारभन्दा बढी भक्तजन मन्दिरमा पुग्छन् ।

अघिल्लो दिन मन्दिरको तल बनाइएको सत्तलमा बसेर पूज गर्न जाने भक्तजनहरु प्राकृतिक रुपमा निर्मित पहाडका ओडार र खुल्ला आकाशमा समेत रात विताएर ८० वर्ष नाघेका बृद्धबृद्धादेखि दुधे बालक काखमा च्यापेर बोकेर समेत मानिसहरु पुग्ने गरेको मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ । विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मन्दिर बनाइएको थियो ।

पछिल्लो समय स्थानीय तह, गण्डकी प्रदेश सहित आफ्नो मनोकामना पूरा भएपछि भक्तजनले समेत भौतिक संरचना बनाउन सहयोग गरेका छन् । सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिका जिल्लाकै आर्कषक पर्यटकीय गन्तब्य बनाउन सकिने घुम्न गएका पर्वत जिल्लाका कृष्ण जिसीले बताए ।  जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट सडक सञ्जाल र पदैलमार्गबाट मन्दिरको चारैतिरबाट पुग्न सकिने भएकाले पत्रकार महासंघ म्याग्दी शाखाले प्रचारप्रसार र पूर्वाधार विस्तारमा सम्बन्धित निकायलाई समेत अनुरोध गर्ने गरी मन्दिर परिसरमै बुधबार पर्यटन प्रर्वधन कार्यक्रम समेत गरेको शाखा अध्यक्ष प्रकाश पौडेलले बताए ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ ।

बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ । काठमाण्डौको चन्द्रागिरीमा एउटा भालेश्वर महादेव, मनकामना र कालिन्चोकमा एकएक देवीको मात्र बास छ।

तर, म्याग्दीको मालिकाधुरीमा त एकै ठाउँमा मालिका, कालिका र जालिकाको आशीर्वाद पाइन्छ। त्रिदेवीको दर्शन पाइने अलौकिक गन्तव्यका रूपमा यसको प्रचार गर्न सकेमा धार्मिकसँगै आन्तरिक तथा बाह्य पर्यटकको समेत ताँती लाग्छ ।

Leave a Reply