एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।

आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्रानिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् ।

बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ । पाँच वर्ष अगाडिसम्म उनलाई मादल बिक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती गर्न थालेका छन् ।

आधुनिक प्रविधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बजाउने प्रचलन पनि घट्दै गएको परियारले बताए । ‘पहिलापहिला विवाह, व्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने, नाच्ने चलन थियो । आजभोली साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्’, उनले भने ।

पाका पूर्खाले गर्दै आएको कामलाई अगाल्नु भएको परियारले व्यवसाय सङ्कटमा परेपछि पेसानै बदल्न बाध्य भएका हुन् ।  बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि छोराहरुले  यसप्रति चासो नदिएको परियाले बताए ।

‘तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड बिक्री गर्ने पसलमा चहलपहल बढेको देखिन्छ । मादल पसल सुनसान छन्’, उनले भने ।

पहिले बाह्रै महिना मादलको माग आउने गरेको भन्दै पाँच वर्ष अगाडि बनाएका मादल थन्काएर राखिएको परियारले बताए । केही वर्ष पहिलेसम्म चाडवाडको बेलामा फाट्टफुट्ट ग्राहक आउने गरेका सुनाउँदै अहिले वार्षिक पाँच वटा मादल पनि बिक्री नहुने उनले बताए ।

काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउनु पर्ने उनको भनाइ थियो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले जानकारी दिए ।

आफ्नो पालामा मनोरञ्जनको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोलि गाउँमा मादल बज्न छोडेको परियारले बताए । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोलि निःशुल्कमा पनि कसैले नलाने उनको भनाइ थियो

‘तिहारको बेला मादलको बढी माग हुने गर्थ्‍यो। गाउँ-सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गर्थे । अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गर्छन् । पहिला यसकै आम्दानीबाट परिवार पाल्न सहज भएको थियो । छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ’, परियारले भने ।

‘पहिले यो सीप नसिकेर विदेश जानुपर्ने रहेछ । अहिले बुढेसकाल लाग्यो । मैले जानेको काम मादल बनाउने हो तर मादल बिक्दैनन् । अहिले पसल बन्द गरेर खेतीपाती गर्छु । हाम्रो गाउँमा मादल बनाउने पसल १०-१२ वटा थिए । अहिले एउटा पनि छैनन् ।’

ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताए । चार/पाँचवर्ष अगाडिसम्म वार्षिक दुई सय मादल बिक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने उनको भनाइ थियो ।

आफूले मादल बनाउने र बिक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको नेपालीले गुनासो गरे । मौलिक संस्कृति हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ ।

पहिले गाउँमा सोरठी, मारुनीलगायतका पुराना नाच नाच्ने गरेको भन्दै अहिले ती नाच लोपहुँदै गएपछि मादलको बिक्रीमा गिरावट आएको नेपालीले बताए ।

‘पहिले मादल किन्नेको लाइन हुन्थ्यो । मैले पुर्‍याउनै सक्दैनथे । कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा सात लाख कमाइ गर्थेँ । अहिले मादल किन्न बेला मौकामा एक/दुईजना आउँछन्’, उनले भने, ‘तिहार आउने बेला अलिअलि बिक्री हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । अब अरु काम पनि गर्नुपर्ने भएको छ ।’

बुर्तिबाङका साउण्ड सिस्टम व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टम किन्न आउनेको भीड हुने गरेको बताए ।

दसैँ पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै उनले हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको जानकारी दिए ।

यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको क्षेत्रीले बताए ।  तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको उनको भनाइ छ ।

‘सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ । विद्युत नपुगेको गाउँ छैन । विद्युत्बाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्नुहुन्छ । मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ’, क्षेत्रीले भने, ‘पहिले गाउँमा मेला महोत्सव हुँदा मादल घन्किन्थे । यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे । तिहारमा पुरानै गीत गाएर देउसीभैलो खेल्थे । अहिले त्यस्तो कतै देखिँदैन, सुनिदैन । जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।’

Leave a Reply