मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना तथा कार्यक्रमका वारेमा सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा नम्बर ३ आर्भाङमा बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ का स्थानीयवासीहरुले सडक सुधार,न्यायोचित रुपमा कृषि अनुदानको वितरण,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत पालिकाबाट प्रवाह भएका सेवाका वारेमा गुनासो राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बरंजा झाँक्रीपानीका कमल थापाले विद्यालयको प्रवेशद्धार निर्माणका लागि कम बजेट विनियोजन गरेको र सडक निर्माणका लागि ५ लाख रुपियाँ कम भएको गुनासो ब्यक्त गरेका थिए।

थमबहादुर थापाले उपभोक्ता समितिले योजना कार्यान्वयन गरेपछि उपभोक्ताहरुका माँझ सार्वजनिक सुनुवाई मार्फत योजनाका वारेमा जानकारी नदिएको र पालिकाले बजेट विनियोजन गर्दा विभेद गरेको गुनासो पोखेका थिए ।

यस्तै आर्भाङका श्यामबहादुर थापाले कृषि अनुदानको वितरण न्योचित नभएकोप्रति गुनासो राखे । वडा कार्यालयबाट अनुदान वितरणको व्यवस्था मिलाउन उनले अनुरोध गरे। व्यवस्थित नाली सहितको सडक निर्माण गर्न पालिकाले जोड दिनुपर्ने उनको भनाई थियो ।

खिमनाथ आचार्य,तेजेन्द्र आचार्य,चक्रबहादुर रोका र गंगाप्रसाद पुर्जाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रोजगारदाता छनौंट गर्दा राजनीतिककरण भएको,वडामा बजेट विनियोजन असमान भएको र दह हुँदै भकुवा जाने सडक मर्मत गर्न पालिकाले वेवास्ता गरेको बताएका थिए ।

पालिकाबाट विनियोजन भएका विकास योजनाहरुको प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । पालिकाभित्र कार्यान्वयन हुने प्रदेशका पूर्वाधारका योजनाहरुमा स्थानीयहरुवासीहरुसँग कुनै समन्वय नभएकोप्रति सहभागिहरुले गुनासो गरेका थिए ।

सार्वजनिक सुनुवाईमा उठेको प्रश्न,जिज्ञास र गुनासोहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सुशासनका लागि सार्वजनिक सुनुवाई एउटा महत्वपूर्ण औजार भएको बताए ।

अध्यक्ष रोकाले सीमित स्रोतसाधनका कारण अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताउँदै वडास्तरीमा आएको योजनाको अनुगमन तथा गुणस्तरीयतामा स्थानीयले सधै निगरानी राख्नुपर्ने बताए। कृषि अनुदानको वितरणमा राजनीतिकरण नगरेको बताउँदै आगमी दिनमा वितरणलाई अझ पारदर्शी र किसानमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वडा कार्यालय मार्फत कृषि अनुदानको फारमहरु संकलन गर्ने व्यवस्था मिलाएको बताए । सडकलाई दिगो रुपमा संचालन गर्नका लागि सडक सुधार योजनालाई प्राथमिकतामा राखेर पालिकाले काम गरेको अध्यक्ष रोकाको भनाई थियो । पालिका र प्रदेश सरकारको बजेटबाट गाउँपालिका भित्रका सडकहरु स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेको बताए ।

सहभागिहरुको जिज्ञासाको जवाफ दिदै पालिका अध्यक्ष रोकाले प्रत्येक योजनाका उपभोक्ताहरुले पारदर्शीता र सुशासनका लागि खर्च हिसावको लेखापरिक्षण गरी सार्वजनिक गर्नुपर्ने बताए । गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदै आएको बताउदै आगामी दिनहरु बास्तविक किसानलाई अनुदानमा समेट्ने प्रतिवद्धता जनाए ।

“गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ। गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौ ।” अध्यक्ष रोकाले भने । “आगामी दिनमा अनुदान वितरण समन्वय र सहकार्य गरेर बास्तविक किसालनाई समेट्छौ ।’’ अध्यक्ष रोकाले थपे । रोजगार संयोजक कृष्ण भुषालले रोजगारदाता छनौट गर्दा कुनै राजनीति नगरेको र लाभग्राहीले भरेको फर्मका आधारमा विभागबाट नै छनौंट हुनेगरेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका र ४ का वडाध्यक्ष लालबहादुर रोकाले वडाको विकासका लागि विनियोजन भएको बजेटलाई सदुपयोग गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले प्रथम चौमासिक अवधिमा पालिकाबाट प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना र कार्यक्रमका वारेमा सार्वजनिक सुनुवाई मार्फत सेवाग्राहीबाट गुनासो,जिज्ञासा र राय सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बताए।

सार्वजनिक पद धारण गरेका व्याक्ति र आम नागरिकबीच हुने सार्वजनिक सुनुवाईले दुवै पक्षलाई लाभ पु¥याउने पौडेलको भनाई थियो । गाउँपालिको हरेक चौमासिकमा पालिकाभित्र हरेक वडामा सार्वजनिक सुनुवाईमार्फत आफुले गरेका काम नागरिकमाझ पु¥याउने र नागरिकले त्यसमा प्रश्न गर्ने, सुझाव दिने, आगामी दिनका योजनामा सुझाव लिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पौडेललको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सूचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए। वडाअध्यक्ष,कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र बरंजावासीको उपस्थितमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार हरिकृष्ण गौतम र ठाकुरप्रसाद आचार्यले गरेका थिए ।

Leave a Reply