बेनी-पाखापानी सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ माटेबिसौनामा बिहीबार साँझ भएको इक भ्यान दुर्घटनामा आठ जना घाइते भएका छन्।

बेनीदेखि नेप्टेचौर जाँदै गरेको ध १ ज १०७० नम्बरको भ्यान दुर्घटना हुँदा चालक बेनी नगरपालिका-९ का गणेशबहादुर खत्रीसहित यात्रुहरू घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा पोखरा महानगरपालिका-१३ टुडीका ३७ वर्षीय राजु नेपालीबाहेक अरू बेनी नगरपालिका-९ का बासिन्दा हुन्।

१७ वर्षीय विवेक चोखाल, ३३ वर्षीया अन्जना चोखाल, ६५ वर्षीय दिवाकर सुवेदी, ४८ वर्षीय रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४७ वर्षीया गोमा श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।

घाइतेहरूको बेनी अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकदेखि ५५ मिटर तल खसेको छ। दुर्घटनास्थल नजिकै रहेका धान भित्र्याउने काम गरिरहेका स्थानीयवासीले उद्धार र प्रहरीलाई खबर गरेका थिए। चालकले उकालोमा गाडी रोकेर पछाडिको टायरमा ओट लगाउन ढुंगा राख्न खोज्दै गर्दा पछाडितर्फ गुडेर सडकबाट खसेको प्रत्यक्षदर्शीको भनाइ छ। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply