म्याग्दीमा राति १० बजेपछि देउसीभैलो निषेध, तोकेर पैसा मागे कारवाही हुने

जिल्ला प्रशासन कार्यालयले म्याग्दीमा राति १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ। नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउन प्रशासनले सूचनाजारी गरेको छ। विहान ७ बजेदेखि राती १० बजेसम्म मात्रै देउसीभैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने समयसिमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी धिेरेन्द्रराज पन्तले जानकारी दिए ।

रातको समयमा देउसीभैलोको बहानामा उच्छृङ्खल गतिविधि हुनसक्ने भएकालेचाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको भन्दा बढी समय खेलेमा कानुनी कारवाही समेत गरिने सहायक प्रजिअ पन्तले बताए ।

छिमेकी जिल्ला पर्वत र बागलुङ क्षेत्रबाट समेत चाडपर्वमा समन्वय गरी सिमा आसपासमा निगरानी बढाउने र जिल्लाभित्र समेत कानुनले बर्जित गरेको गतिविधिमा संलग्न भएमा तत्काल प्रहरीमा जानकारी दिन समेत प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले आग्रह गरेका छन् ।

देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिन समेत अनुरोध गरे। मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएकाले यसको विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ।

जिल्लाभित्र चाडपर्वमा ठूलो आर्थिक चलखेल सहित जुवातासको खेलप्रति प्रहरीले साधा पोशाकमा समेत खटाएर समेत निगरानी बढाएको जनाएको छ। जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गरिने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । तिहारलाई लक्षित गरी साधा पोशाक, मोवाइल गस्ती समेत गरिने उनको भनाइ रहेको छ।

 

Previous articleअपूरो छोडेर भागेका बेनी अस्पतालका ठेकेदार काममा फर्किए
Next articleलेखकहरूलाई करबाकेलीमा पदयात्रा गराइयो