---Advertisement---

लोकवार्ता परिषद् नेपाल: पुराना कला, संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड

On: November 11, 2023 12:42 AM
Follow Us:

हाम्रो परम्परा : हाम्रो पहिचान भन्ने मूल नारासहित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी शुक्रवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहआयोजना र लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठी म्याग्दीको स्थानीय संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा भएको १२औं सङ्गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिमाली जिल्ला म्याग्दी कला, संस्कृति र भेषभूषाले सुसज्जित जिल्लाको रुपमा रहेको बताउनुभयो ।

उहाँले लाहुरेको जिल्लाको रुपमा चिनिएको म्याग्दीमा रेमिट्यान्स भित्रिनुका साथसाथै विदेशी संस्कृति पनि भित्रिएको बताउँदै परम्परागत कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राज्ञिक तथा बौद्धिक क्षेत्रको कार्यक्रममा आम शिक्षक तथा विद्यार्थीहरुलाई पनि सहभागी बनाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दीमा आयोजित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीले जिल्लाको कला, साहित्य, लोक, संस्कृतिको संरक्षणमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले लोक, संस्कृति, परम्परा, इतिहास र धर्म संस्कृतिलाई पर्यटनसँग जोड्ने गरी लोकवार्ता परिषद्ले प्रकाशन गर्ने पुस्तक तथा लेख, रचनाहरु स्थानीय तहलाई पृष्ठपोषण र सहयोगी बन्नुपर्ने बताउँदै मौलिक कला तथा संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा लोकवार्ता परिषद् नेपालले इतिहासकार प्राध्यापक डाक्टर कर्णबहादुर बानियाँ, अमूर्त संस्कृति झाँक्री परम्पराका संरक्षक थार्इँला झाँक्रीका नामले परिचित यामबहादुर पूर्जा, थालीनाचका सुरुवातकर्ता हरिमाया पुन र लोकगायिका धनकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व प्रा.डा. बानियाँ र म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लोकवार्ता परिषद् नेपालका महासचिव ध्रुव भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठीका संयोजक प्रतिभा पुनको अध्यक्षता, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कलाकारबाट थालीनाच प्रस्तुत गरिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सञ्चालित कार्यक्रमको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । यसैगरी स्थानीय सहआयोजकहरुमा बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, धवलागिरि र मंगला गाउँपालिका तथा म्याग्दी बहुमुखी क्याम्पस रहेका छन् । यसअघि लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी बुधवार मालिका गाउँपालिकाको विम र बिहीबार अन्नपूर्णको राम्चेस्थित काफलडाँडामा आयोजना गरिएको थियो ।