विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर गौंडा भए । गौंडा भएपछि सुकेको व्यापार उठ्न निकै समय लाग्यो।
बेनीको बजार
जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल‘
म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ सर्जक तथा गायक स्वर्गीय टीकाबहादुर श्रेष्ठले गाएको यो गीतको गीतांशजस्तै छ, बेनी बजार । म्याग्दी जिल्ला सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार साविकको धौलागिरी अञ्चलका ४ जिल्लाको व्यापारको प्रतिनिधित्व गर्ने बजार हो ।

बाइसे–चौबिसे राजाका पाला पर्वत राज्यको मुकाम, राज रजौटाको थलो बेनी बजार हिजो जस्तो थियो, आज त्यो भन्दा सुधारिएको छ । तर, बिग्रिएर कहिल्यै पछि परेन । बेनी बजारका अनेकौं किस्सा र आरोह÷अवरोह छन् । पर्वत राज्यको मुकाम हुँदै अहिलेको सानो जिल्लाको मुकाम हुँदा समेत बेनीले आफ्नो साख जोगाइराखेको छ ।
बेनी बजार इतिहास

पूर्व सांसद एवं इतिहासका जानकार चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औं शताब्दीमा स्थापना भएको हो । विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो । १६ हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए । राजा राजबम मल्लले पर्वत राज्य सम्हाले ।

उनै राजाले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्चालनको खर्चको खोजी गर्दा बेनीले व्यवसायिक यात्राको सुरुआत गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गरेका छन् ।

तत्कालीन समयमा बेनी बजार चौबाटोमा पर्दथ्यो । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए । खानीहरु सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले ।

अरु बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहेको भएपनि बेनी बजारको मात्र त्यस्तो इतिहास छ जुन बजार दलित व्यापारी कामी समुदायका नागरिकले उठाएका हुन् । बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुहरुको व्यापार सुरु भएको इतिहास छ । ‘यी धातुहरु भने पर्वत राज्यका विभिन्न ठाउँमा निकालिन्थ्यो,’ लेखक बानियाँ भन्छन् ।

अहिलेको म्याग्दीमा पर्ने बेनीबजार बगर थियो । पर्वतमा पर्ने बेनीबजार कालीगण्डकीको तिरबाट व्यापार सुरु भएको हो । ‘पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ,’ बानियाँ भन्छन् ‘बेनी बजारलाई फेरो हालेका काली र म्याग्दी खोलालले छिचोलेको भूभागमा खेती कम हुन्छ ।’

म्याग्दी खोलाले छोडेका केही बगरमा खेती हुने भएपनि कालीखोलाले छोडेका चट्टानमा उब्जाउ नभएकै कारण विकल्पको रुपमा बेनीमा व्यापार सुरु भएको उनको भनाइ छ । पर्वत राज्यका ७ औं राजा मलेबम मल्लले पहिले बेनीबजार भन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे ।

Date: 1968 Location: Beni, Myagdi Description: Toddler sitting in the lap of his grandmother in Beni Bazaar and his grandmother’s friend laughing.

उनको राजकाज त्यहींबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो । बाइसे चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ । बेनीमा टक्सार (मुद्रा काट्ने मेसिन) राखेर काम भइरहेको थियो ।

पहिले बगर, अहिले बजार
बेनी बजारले ५ शताब्दीको यात्रामा अनेकौं आरोहअवरोह व्यहोरेको छ । कहिले टक्सार हटेपछि हराएको व्यापार त कहिले आगलागी र कहिले व्यवस्था परिवर्तनको शिकार बेनी बजार भएको इतिहास छ ।‘पर्वत राज्यमा विसं १८४३ को दशकमा गोरखाका राजाले आक्रमण गरे ।

Date: 1968 Location: Mudi, Myagdi Description Returned Gurkha soldier teaching four young students in outdoor classroom.

५ दिन लामो लडाइँपछि दरबार जलाइयो, व्यापार उठाइयो र विजयी हासिल भएको घोषणा गरियो । त्यतिबेला हुने धातुको व्यापार केही समयका लागि घट्यो र फेरि उठ्यो,’ बानियाँ भन्छन । विसं १९२०–२५ को दशकमा गोरखाका राजाले काठमाडौं विजय गरेपछि भक्तपुर र साखुका नेवारहरु बेनीमा आए । १९२६ मा तत्कालीन राजाले दिएको एक सुर्को जमिनमा घर बनाएर नेवारले सुरुआत गरेको बजार अहिलेसम्म छ ।

Date: 1966-08-21
Location: Beni, Myagdi
Description: Beni bazaar as seen from helicopter.

विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर गौंडा भए । गौंडा भएपछि सुकेको व्यापार उठ्न निकै समय लाग्यो ।

विसं २००० सालमा बेनी बजारमा भएको आगलागी कहालीलाग्दो थियो । बुढापाकाका अनुसार त्यतिबेला बेनी बजार सबै नासियो । १०१८ सालसम्म एकै ठाउँमा रहेको पर्वत राज्यको अस्तित्व त्यतिबेला सकियो जब राज्यको पुनसंरचना भयो ।
राजा महेन्द्रले उच्चस्तरिय संयन्त्र बनाएर पुनसंरचनाको खाका ल्याउन लगाए ।

Date: 1967-03-13
Location: Beni, Myagdi
Description: Victory procession through bazaar after election of district chairman.

समितिले ल्याएको खाकामा १४ अञ्चल १४ जिल्ला थिए । ७४ जिल्ला फाप्दैन भनेपछि एक जिल्ला थप्ने निर्णय भयो । पर्वत, कास्की र स्याङ्जाबाट केही भूभाग छुट्टाउँदा पर्वत जिल्ला थपियो । नयाँ जिल्लालाई पर्वत नै नामाकरण गरियो । पुरानो पर्वतको शाख बोकेको जिल्लाको नाम म्याग्दी र मुकाम बेनी भनेर राखियो । २०१८ सालमा साविक मुकाम पर्वत जिल्लामा परेपछि बेनीले नयाँ मुकाम बिस्तार ग¥यो । पहिलेको बगर अहिले बजार बनेको छ ।

नयाँ संरचना र बेनीको व्यापार
बेनी बजार आप्रबासीले भरिएको बजार हो । यहाँ व्यापारका लागि आउनेहरु अधिकांश बाहिरी जिल्लाका छन् । म्याग्दी जिल्लाकै पनि बेनी बजार बाहिरका धेरै छन् । स–साना संकट आउँदा समेत यहाँको व्यापार छोडेर हिँड्नेहरु धेरै हुन्छन् ।
बजारको व्यापार घट्ने त्रासले संकटमा व्यवसायीले बजार छोड्ने गरेका भएपनि यहाँको व्यापारमा तात्विक असर नपरेको अनुभव छ, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तम कर्मचार्यको ।

‘पैदल हिँडे घोरेपानीको बाटो हो नत्र म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो बेनी बजार,’ कर्मचार्य भन्छन्, ‘बेनीले जबरजस्त आफ्नो साख जोगाइरहेको छ ।’ गाउँगाउँमा सडक पुगेका छन् । राज्यको पुनसंरचना भएपनि पालिका मुकामहरु बनेका छन् । तर, बेनी बजारले भने यी सबै परिर्वतनसँग अनुकुलित हुने गरेको बानियाँको पनि अनुभव छ ।

‘नेपालको संविधानले जिल्लाको कल्पना गरेको छैन । अब मुकाम रहँदैन भनेर धेरैले पहिले बजार छोडे,’ बानियाँ भन्छन्, ‘विकल्प नै छैन्, मुख्यद्वार भएकाले बेनीले आफूलाई परिवर्तन गर्नुप¥यो । तर, सुक्नु परेन, छोडेका पनि फर्किन थालेका छन् ।’ हिजो तामा फलामको व्यापारबाट बेनी नुन कपडाको व्यापारमा प्रवेश गरेको थियो ।

‘स्याङ्जाको पुतलीखेतबाट मान्छेले बोकेर ल्याएको सामान यहाँ बिसाउँदा व्यापार हुन्थ्यो,’ कर्मचार्य भन्छन्, ‘हिजो गाडी थिएनन्, अहिले गाउँमा गाडी पुग्दा कमी भए होला तर व्यापार खस्किएको हैन ।’ २०१७ सालमा म्याग्दी बेनी र पर्वत बेनीलाई जोड्नेगरी म्याग्दी खोलामा पुल बनेपछिको व्यापार स्थीर रहेको उनले बताए ।

अहिलेको आधुनिक व्यापारमा पनि बेनी उत्तिकै अब्बल छ । मुस्ताङको स्याउ र च्यांग्राको ट्रान्जिट प्वाइन्ट बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न भण्डारण पनि बेनीमा भएरै बाँडिन्छ । म्याग्दीमा मालिका गाउँपालिकाको दरबाङ बजारले बेनीसँग प्रतिस्पर्धा गर्छ । दोस्रो बजारको रुपमा रहेको दरबाङको पनि आफ्नै इतिहास छ । दरबाङले आफ्नो स्वरुप फेरेको भएपनि बेनीलाई कहिलै असर गरेन । दरबाङले आफ्नै लयमा विकासको बाटो समातेको छ ।

मंगला गाउँपालिकाको बाबियाचौर, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र धौलागिरि गाउँपालिकाको मुना बजारले आ–आफ्नै लय समातिहेका छन् । पोखरे बगरमा रहेको फराकिलो भूभागले मूल्य बढाउँदा भरिएको बेनी बजारको जग्गासँग कुनै तुलना हुँदैन । रघुगंगाको मौवाफाँट पनि आफ्नै लयमा छ । बेनी बजार जसरी तीन नदीको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगमस्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका पाइन्छ परिर्वत र व्यापारमा पनि त्यस्तै छ ।

लाहुरेले सिंगारिएको बजार
म्याग्दीमा खेतीयोग्य जमिन कम छ । यहाँको मुख्य पेशा भनेकै कि त व्यापार नभए लाहुर हो । लाहुरेहरुको जिल्ला भनेर परिचय बनाएको म्याग्दी मुकाम बेनी बजारमा व्यापारको साख जोगिनुको अर्को मुख्य कारण विप्रेषण हो ।

‘केही नभएपछि परिवार पाल्ने उपाय खोज्न जवानहरु गोर्खा, ब्रिटिस र सिंगापुर पुगे, अहिले जापान, जर्मन र खाडी पुगेकै छन्,’ इतिहासका जानकार चन्द्रप्रकाश बानियाँ भन्छन्, ‘अनौंठो चलन के छ म्याग्दीमा भने पहिलेकाले पैसा ल्याएर जग्गामा हालेनन्, लाहुरेले घरमा छोडेर जाने पैसा व्यवसायसँग जोडियो ।

’ उत्पादन र उत्पादकत्व नभएकै कारण बजारसँग सधैं जोडिने बाध्यता म्याग्दीमा छ । जसको फाईदा बेनी बजारले उठाइरहेको छ । सडक, संरचना र व्यवस्था फेरिँदा समेत पाँच शताब्दीसम्म बेनीको उत्तिकै महत्व र गरिमा रहेको बानियाँ बताउँछन् । ढोरपाटन दैनिकबाट साभार

Leave a Reply