नेपाल संवत ११४४ को अवसरमा मंगलबार म्याग्दीको सदरमु्काम बेनीमा विविधि कार्यक्रम गरी मनाइएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेपाल भाषा मंकाः खल म्याग्दीले बेनीबजारमा विभिन्न जाजातिको धार्मिक भेषभुषा सहित सांस्कृतिक पहिरनसहित ¥याली निकालेको थियो ।

नेपाल भाषा मंकाः खल म्याग्दीको सभाहलमा आयोजित औपचारिक कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेवारी जाति आफ्नो संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजाको पुस्ता हस्तान्तरणमा अन्य जातिको तुलनामा अगाडी रहेको बताए ।

उनले आधुनिकताको लहरमा आफ्नो जातिय पहिचान गुम्न नदिन नेवारी समुदायबाट भइरहेको प्रयासको प्रशंसा समेत गरेका थिए ।नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका मन्त्री जुग्जालीले नेपाल संवर्त नेवार समुदायको मात्रै नभई राष्ट्रिय संवत् भएकाले अव सरकारी सरकारी कागजपत्रमा समेत प्रयोगमा आउने बताए ।

मन्त्री जुग्जालीले म्याग्दी जिल्लाको विकासमा साझा धारणा र एजेण्डा बनाएर सबै राजनीतिक दलहरू सक्रिय हुनुपर्ने बताए। सोही अवसरमा संविधानसभाका सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगरले समेत मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसरमा नेवार समुदायको तर्फबाट गतबर्षको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयबाट गुञ्जन श्रेष्ठ, संस्थागत विद्यालयबाट स्वीकृति श्रेष्ठ र आवास श्रेष्ठलाई नगद, कदरपत्रले सम्मान गरिएको थियो भने म्याग्दीभित्रका नेवार समुदायबाट विभिन्न समयमा चिकित्साशास्त्रमा स्नातक र स्नातकोत्तर गरेका २७ जनालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।

कार्यक्रममा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सदस्यद्धय हरिबहादुर भण्डारी, बिमला गौचन, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायत वडा अध्यक्ष, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । राष्टिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरि नेपाल संवतको सुरुवात गरेका थिए।

नेपाल देशको नामबाट राखिएकाले यो संवतलाई नेपालकै मौलिक संवतको रुपमा मनाइन्छ। जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए। आज साँझ नेवार समुदायमा म्हः पूजा गर्नेछन्।

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले म्हःपूजा पर्व मनाउने गर्दछन्। म्याग्दीमा बेनी नगरपालिका वडा नं ७ र ८ मा नेवार समुदायको बाहुल्यता रहेको छ भने जिल्लाका विभिन्न बस्तीमा समेत नेवार समुदायको पातलो बसोबास रहेको छ । कार्यक्रमको अध्यक्षता मंकाः खलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, स्वागत कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ र सञ्चालन सहसचिव सृजना श्रेष्ठले गरेकी थिईन् ।

Leave a Reply