---Advertisement---

विपन्न विद्यार्थीलाई सहयोग गर्न मोना पोर्चुगलको देउसीभैलो

By -
On: November 15, 2023 9:30 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (पोर्चुगल)ले बर्सेनी जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्न देउसीभैलो खेलेको छ ।

पोर्चुगलमा रहेका म्याग्देलीलाई चाडपर्वमा खल्लो महसुस हुन नदिन तथा तिहारको अवसरमा शुभकामना अदानप्रदान गर्न बेला भिस्ता पार्क लिस्बोन्बाट सुरु भएको देउसीभैलोमार्फत अक्षय कोषका लागि ४ लाख ६१ हजार आर्थिक संकलन भएको छ ।

नेपाली मौलिकता प्रस्तुत गदैं मोनामार्फत संस्थागत विकास तथा अक्षयकोषको स्थापना गरी जिल्लाको अति दुर्गम क्षेत्रका बालबालिकालालाई शैक्षिक गतिविधिमा सहयोग गर्ने गरी देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको मोना पोर्चुगलका अध्यक्ष नर फगामी मगरले बताए ।

‘हामीलाई घरआगनमा स्वागत सहित अविस्मरणीय विदाई गर्नुभयो, देउसीभैलोमार्फत पुगेका सबै ठाउँमा भब्य भयो’ अध्यक्ष फगामीले भने ।उनले म्याग्दीका अति विकट क्षेत्रका बालबालिकालाई शैक्षिक अभियानमा सहयोग सहित मोनाले अक्षय कोषलाई विस्तार गरी थप रचनात्मक सहयोग समेत गर्ने बताए । देउसीभैलो कार्यक्रमले नेपालको झल्को मेट्ने प्रयास समेत गरेको मोना पोर्चुगलका महासचिव तेजिन्द्र छन्त्यालले बताए ।

उनले मोना कोषलाई थप सहयोग मिल्ने गरी अन्य रचनात्मक कार्यहरु समेत गरिने बताए । नेपाली चाडपर्व, देउसीभैलोको संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोषको अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोना पोर्चुगलले धन्यवाद दिएको छ ।

देउसीभैलो कार्यक्रमको अध्यक्षता सहित अक्षय कोष अभियानका बारेमा अध्यक्ष फगामी र कार्यक्रमको सञ्चालन महासचिव तेजिन्द्र छन्त्याल र प्रमुख सल्लाहकार लक्षु रोकाले गरेका थिए । मोना पोर्चुगलले संस्थागत विकास सहितका गतिविधिलाई समेत तिब्रता दिएको छ ।

-