व्यक्तिको जीवन शैली उसले बाँच्ने क्रममा भोगेका परिस्थिति, वातावरण, शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश एवं संस्कारले निर्धारण गरेको हुन्छ । जीवन शैली व्यक्तिका सपना, आकांक्षा एवं उद्देश्यहरूझैं हरेकको फरक–फरक हुन्छ । तर, सपना र उद्देश्यहरू पूरा गर्ने क्रममा भोगेका दुःख एवं वेदना प्रायः सबैको एउटै खालको पाइन्छ ।
जीवनमा कुनै न कुनै समय सबैले दुःख पाएकै हुन्छन् । कसैले बढी त कसैले कम दुःख भोगेका हुन्छन् । त्यसैले हरेक व्यक्ति शान्तिका साथ सुखी जीवन जिउन लालायित हुन्छन् । पछिल्लो समय भौतिक सुख–सुविधाले सम्पन्न व्यक्ति झनै शान्तिबाट टाढा हुँदै गएको देखिन्छ ।
यो परिप्रेक्ष्यमा शान्तिका अग्रदूत गौतम बुद्धका शिक्षा, वाणी ज्ञानलाई एकपटक मनन गर्नैपर्ने देखिन्छ । बुद्धले यो संसारमा निहित दुःख तथा त्यसका कारण र निवारणको मार्ग पत्ता लगाई आफ्नो जीवनपर्यन्त बहुजन हिताय, बहुजन सुखायका लागि यथेष्ट ज्ञान प्रचार–प्रसार गरे ।
सुखका साथ जीवन जिउने चाहना राखेकाहरूले बुद्धले देखाएको मार्गको अनुशरण गर्नुपर्छ, हामीमध्ये धेरैले त्यो गरेको पनि पाइन्छ । संसारमा दुःख छ, त्यसको कारण र निवारण पनि पक्कै छ । बुद्धले चारवटा आर्य सत्य पत्ता लगाएपछि सिकाएको विपश्यना ध्यानबारेमा यो आलेख केन्द्रित छ ।
बाहिरबाट देखिने हरेक वस्तु हामीले हेरेको/देखेको जस्तो नहुन सक्छ । कुनै वस्तुलाई यथास्थिति (जुन अवस्थामा वा जस्तो छ त्यस्तै देख्नु) मै हेर्नु/बुझ्नु नै विपश्यना हो । महान् विपश्यनाचार्य श्री सत्यनारायण गोयन्काले विपश्यनालाई सत्यको उपासना भनेका छन् । उनका अनुसार सत्य जिउने अभ्यास हो । सत्यलाई त्यसको मौलिक स्वभावबाटै हेर्न र बुझ्न सक्नु नै विपश्यना हो । यो सम्यक् दर्शन र ज्ञान हो ।
भगवान् बुद्धको समयकाल तथा उनको परिनिर्वाणको ५०० वर्षसम्म विपश्यना ध्यान/साधनालाई मानिसले पालना र निरन्तर अभ्यास गरे पनि पछि यो साधना लोप हुँदै गयो । समाजमा यसको चर्चा नै नभएको अवस्थामा पनि बर्मामा भने गुरुचेला परम्परानुसार शुद्ध रूपमा यो साधना/विधिको निरन्तर अभ्यास तथा जगेर्ना गरियो ।
लगभग १०० वर्षअघि यो साधना बर्माका प्रबुद्ध लैडी सयाडोले प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । उनले बुद्ध बचनका साथै यो साधना विधिलाई भिक्षुहरूमा मात्र सीमित नराखी गृहस्थीमा रहेका मानिससम्म प्रसार गरेको पाइन्छ । यो नै विपश्यना साधना सिकाउने प्रक्रिया पुनः सुरुवात थियो । हाल यो विश्वका विभिन्न ठाउँमा निःशुल्क र नियमित सिकाइन्छ । विपश्यना साधना दश दिवसीय आवासीय शिविरमा गई सिक्न सकिन्छ ।
यो नेपालको मुहान पोखरीस्थित धर्मशृङ्गलगायत अन्य विभिन्न ठाउँमा सिकाइन्छ । शिविर अवधिभर पूर्ण मौन (आर्य मौन बोली मात्र नभई हाउभाउ आदिबाट पनि मौन) रही पञ्चशील ः प्राणी हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु र मादक पदार्थको सेवन नगर्नुको पालना गरी शिविरको नियममा रही यो साधना सिक्नुपर्छ ।
पञ्चशीलको पालनाले साधनामा समाधि प्राप्तिका लागि ठूलो सहयोग प्राप्त हुन्छ । समाधि अर्थात् एकाग्रता (स्थिरता) । यो अवस्थामा पुगेपछि मन र शरीर दुवै भौतिक तत्वको परिवर्तनशील (उदय व्यय) सत्यलाई स्वः अनुभवबाट बुझ्न सकिन्छ, हेर्न सकिन्छ । यसबाट ज्ञानको मार्ग प्राप्त गर्न सहयोग पुग्छ । यो ध्यान साधना तीन चरणमा सिकाइन्छ ।
पहिलो चरण : आनापान (सहज स्वाभाविक श्वासलाई हेर्ने विधि) । तीन दिनसम्म यो सिकाइ विधि निरन्तर अभ्यास गराइन्छ ।
दोस्रो चरण : चौथो दिन विपश्यना (शरीरमा उत्पन्न हुने विभिन्न संवेदनालाई सही रूपले सजक भई सतर्कताका साथ समभावमा अवलोकन गर्ने विधि) विधि सिकाइन्छ । यसको निरन्तर अभ्यास गराइन्छ ।
तेस्रो चरण : दशौं दिन मंगलमैत्री (शिविर अवधिभर आफूले आर्जन गरेको पुण्यमा सबैलाई भागिदार बनाउने ध्यान साधना विधि) साधनाको विधि सिकाइन्छ । यसका साथै आर्य मौन पालनाको नियम पनि समाप्त हुन्छ । यसरी दश दिन शिविरमा रहँदै दश दिने विपश्यना साधना विधि सिक्न सकिन्छ ।
मन र शरीरको परिवर्तनशील धर्मलाई स्वःको अनुभवबाटै अनुभूति गरी यथाभूत सत्यलाई हेर्न र बुझ्न सिकाइन्छ । त्यसैले जन्म/जन्मान्तरदेखि भोग्दै आएका मानव जीवनमा निहित दुःख, वेदना तथा मनमा रहेका विकारहरूलाई हटाई जीवनचक्रको भवसागरबाट मुक्तिको मार्गतर्फ अगाडि बढाउने विपश्यना साधनाबाटै एक पटक भए पनि ज्ञान हासिल गर्नुपर्छ । बुद्ध जन्मेको देशका हामी नागरिक भन्दै सधैं उनको नामको नारामात्र लगाइरहनु भन्दा उनको शिक्षाको वास्तविक ज्ञान प्राप्त गरी उनलाई वास्तविक रूपमै सम्मान गर्न जरुरी छ । सबैले शान्तिपूर्ण जीवनयापन गर्न सके हरेकको कल्याण हुनेछ ।