म्याग्दीको मालिका गाउँपालिका-७, बिमस्थित ऐतिहासिक तपोस्थल प्रभुचेला धुरीलाई विपश्यना केन्द्र बनाइने भएको छ । समुन्द्रि सतहदेखि २४ सय मिटरको उचाईमा जंगलभित्र अवस्थित प्रभु चेला आसपासका क्षेत्रमा विपश्यना साधनाका लागि आर्कषक गन्तब्य बनाउन आवश्यक भौतिक पूर्वाधार सहितको संरचना बनाउने कार्यलाई तिब्रता दिने भएको हो ।

सडक सञ्जालले समेत छोएको प्रभुचेलामा हाल ब्यक्तिगत रुपमा मन्दिर र अन्य संरचना तयार भएपनि अब गण्डकी प्रदेश सरकार, मालिका गाउँपालिका र बिमबाट विदेशमा रहेकाहरुले संकलन गरेको आर्थिकबाट विपश्यना केन्द्रका लागि आवश्यक पर्ने संरचना बनाइने प्रभुचेला ध्यान केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष नविन जुग्जालीले बताए ।

‘बस्तीभन्दा टाढा जंगल क्षेत्रमा रहेकाले विपश्यना गर्नेका लागि उपयुक्त मानिन्छ,‘अब संरचना बनाएर ध्यान बस्न चाहनेलाई त्यहाँसम्म आउने वतावतरण बनाउँछौ’ अध्यक्ष जुग्जालीले भने । उनले जंगल क्षेत्रमा संरचना बनेपछि साधानमा रमाउनेहरुलाई आसपासको वातावरणले समेत सहज हुने बताए ।

विपश्यना साधना भनेको जीवनलाई प्रत्यक्ष अनुभवद्वारा थाहा पाउने र दुःख मुक्तिबारेको विज्ञान भएकाले संरचना तयार भएमा गन्तब्य बनाउन सकिने उनले बताए । प्रभुचेलामा अहिले पनि तपस्वीले अग्नि हवन गरेको हवनकुण्ड र तपस्वी बसेको कुटीको अवशेषहरु समेत अहिलेसम्म सुरक्षित छन् ।

करिब ११७ वर्ष अघि स्वर्गद्वारी आश्रमबाट बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले ईस्वी सन् १९७० तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य समेत फेला परेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रभुचेलालाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउन निरन्तर सक्रिय हुने बताए । उनले मालिकाधुरी मन्दिरमा जाने तथा ध्यान साधानामा रमाउनेहरुलाई लक्षित गरी अब बन्ने हरेक संरचनाहरु डिपिआर गरी बनाइने बताए ।

प्रभुचेलामा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले चालु आवमा ५० लाख विनियोजन गरेका छन् भने प्रवासमा रहेका बिमबासीले समेत आर्थिक संकलन गरिरहेका छन् ।

स्वर्गद्धारीबाट स्वामी. डा. श्री रुद्रनन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोले समेत प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गरेका थिए । प्रभुचेलाधुरीमा पुगेपछि धौलागिरि, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखलाका साथै आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यको अवलोकन समेत गर्न पाइन्छ ।

Leave a Reply