दशैँतिहारका लागि घरमा आएका धमाधम फर्किन थालेका छन् । दशैँतिहारको विदा सकिएसँगै म्याग्दीबाट विभिन्न जिल्लामा जाने यात्रुको बसपार्कमा चाप बढेको छ । चाडपर्व सकिएपछि सामान्य दैनिकीमा फर्किन थालेपछि म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुल बसपार्क, दरबाङ र बागलुक बसपार्कमा आइतबार भिडभाड छ ।

दशैँतिहार बिदा सकिएसँगै गाउँघर गएका धेरैजसो फर्किन थालेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । यसैबीच घरबाट गन्तब्यतर्फ लागेका यात्रुसँग बस तथा जीप र ट्याक्स व्यवसायीले चर्को भाडा लिई ठग्ने गरेको यात्रुले गुनासो गरेका छन् । ‘चाडपर्वमा महंगो भाडा तिर्नुपरेको छ,‘गन्तब्यमा पनि नपुगि भएको छैन’ एक यात्रुले भने ।

बेनीबाट पोखरा छुट्ने रातो नम्बरका ट्याक्सीले रिर्जबमा ३२ सय लिनुपर्नेमा ७ देखि ८ हजार र जिपले ८ सय लिनुपर्नेमा १२ सयसम्म लिएको छ भने केही यात्रुबाहक बसले समेत पोखरासम्म ५ सय रुपैयाँ लिने गरेको पाइएको छ। यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बढी भाडा लिने यात्रुलाई शुल्क नलाग्ने १ सय नम्बरमा गाडी नम्बर जानकारी दिन यात्रुलाई अनुरोध गरे ।

उनले बसपार्क आसपासमै चाडपर्वको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेकाले जानकारी दिन सकिने बताए । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने प्रनाउ कुँवरले बताए ।

Leave a Reply