---Advertisement---

गाउँमा पुग्न थाले अटो रिक्सा

On: November 19, 2023 5:25 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित अटो रिक्साले ग्रामिण क्षेत्रमा समेत यात्रु बोक्न थालेको छ । बेनी नगरपालिकाले अटो रिक्सा सञ्चालनको अनुमति दिएपछि पहिलोपटक वडा नं ३ भकिम्लीको हल्लेगौँडासम्म यात्रु लिएर पुगेको हो । गौरीधाम यातायात प्रालिद्धारा सञ्चालित अटो रिक्साका सञ्चालन विकास कुँवरले ३ जना यात्रु लिएर हल्लेगौडा पुगेको समितिका सचिव सरोज क्षत्रीले बताए ।

‘हामीले ग्रामिण क्षेत्रमा पनि सेवा दिन थालेका छौ,यात्रुलाई बोक्नु अगाडी हामीले रुटमा परीक्षण गछौं’ सचिव क्षत्रीले भने। उनका अनुसार पेट्रोलबाट चल्ने भएकाले अटो रिक्साले सहज बाटो भएको ग्रामिण बस्तीमा समेत यात्रुलाई बोक्न सक्ने बताए ।

यता समितिका सदस्य विकास कुँवरले भकिम्लीको हल्लेगौडासम्म क्षमतामा यात्रु बोक्न सकिने बताए ।उनले नगरपालिकाभित्र अहिलेसम्म गलेश्वर, अर्थुङे, तातोपानीसम्म यात्रु बोक्ने गरेको बताए ।

बागलुङ र म्याग्दीका अटो रिक्सा सञ्चालन गरिरहेको गौरीधाम यातायात प्रालिले पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको केन्द्रसम्म सञ्चालनका लागि समेत अनुमति लिने तयारी गरेको छ।

बेनी नगरपालिकाले अहिलेसम्म १० वटा अटो रिक्सा सञ्चालनको अनुमति दिएकोमा ७ वटा सञ्चानलनमा रहेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अटो सञ्चालन गर्दा जोखिमलाई मध्यनजर गरी सडक सहज र ब्यवस्थित भएको छोटो दुरीमा सञ्चालन गर्ने अटो रिक्सा सञ्चालकको कुँवरले बताए ।

उनले जिल्लाभित्र अनुमति पाएमा दरबाङ र उत्तरी म्याग्दीको भुरुङ तातोपानीसम्म जान सकिने बताए । जिल्लाभित्रका ब्यापारिक केन्द्रसम्म जाने सकिने भएकाले रुट परमिटका लागि म्याग्दीका स्थानीय तहलाई समेत लिखित अनुरोध गरिने समितिले जनाएको छ ।

बेनीबजारमा अटो रिक्सा सञ्चालनमा आएपछि बजारभित्र चाहेको स्थानमा सस्तोमा रहजै जान सकिन्छ । एउटा अटोमा ४ जनासम्म चढ्न मिल्ने अटोरिक्सा पेट्रोलमार्फत चल्ने गर्दछ। बेनीबजारभित्र ५० रुपैयाँ र बजारबाहिर स्थानका आधारमा १ सय ३० रुपैयाँ सम्ममा यात्रुहरु आवतजावत गराउने गरेको समितिले जनाएको छ।