‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत ग्रामीण भेगका किसानहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बिहान १० बजेसम्म डोकाबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताए । उनले व्यवसायीहरु स्वयंले स्वतस्फूर्त रुपमा कर तिर्नुपर्ने र यसका लागि सम्बन्धित निकायले वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बताउँदै बेनी नगरपालिकाबाट घरबहाल कर उठाउन यसअघि बनाएको कानुन परिवर्तन गरेर नयाँ दररेट कायम गरिएको जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले व्यवसायीहरु जुन व्यवसायमा दर्ता भएको हो, त्यसैको मात्रै कारोबार गर्नुपर्ने बताए ।
उनले ५० लाख रुपैयाँभन्दा तलको कारोबार प्यान र ५० लाखभन्दा माथिको कारोबार भ्याटमार्फत गर्नुपर्ने बताउँदै व्यावसायिक प्रयोजनका लागि बिलबिजक बिना सामानको खरिद र बिक्री गर्न नहुनमा जोड दिए । सामान खरिद गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा भरपाई बनाएर आर्थिक कारोबार गर्नुपर्ने बताउँदै उहाँले बिचौलियाले सामान खरिदसँगै बजारको पनि खोजी गरिदिने धारणा व्यक्त गरे ।
म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीहरुले प्यान, भ्याट, अन्तःशुल्क तथा कारोबार, मिसम्याच र कर तिर्ने समयमा झेल्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । व्यवसायीहरुले उठाएको गुनासो तथा जिज्ञासाको विषयमा प्रमुख कर अधिकृत आचार्यले जवाफ दिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहनप्रसाद आचार्यले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र स्वागत, महासचिव अमित बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।