म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा एक युवा आमरण अनसन बस्नुभएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा रमेश गुरुङ आमरण अनसनमा बस्नुभएको हो । सोमबार गाउँपालिका कार्यालयमा आफ्नो दुई बुँदे मागपत्र दर्ता गरी दिउँसो १२ बजेदेखि गुरुङले आमरण अनसन सुरु गर्नुभएको हो ।

मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गरिएको छ ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको हो ।

जनचासो र गाउँपालिकाको महत्वपूर्ण बिषयलाई जनप्रतिनिधिले वेवास्ता गरेको र जनतालाई धोका दिने काम भएपछि आफुले आमरण अनसन सुरु गरेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो माग सम्बोधन नभएसम्म गाउँपालिका कार्यालय परिसरमै आफ्नो अनसनलाई नतोड्ने बताउनुभयो ।संघीय सरकारले ०७७ मंसिर १५ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । रघुगंगामा अस्पतालको शिलान्यास समेत भएको छैन् ।

योजना घोषणा गर्दा मन्त्रालयलले वडा नम्बर १ बेगखोला स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भनेपनि तत्कालिन अवस्थामा तोकिएको साढे ९ रोपनी जग्गाको निशूल्क व्यवस्थापन गर्नुपर्ने मापदण्ड पुरा गर्न कठिन हुने, तत्कालिन बेगखोला स्वास्थ्य चौकीको भवन पुननिर्माणका लागि अर्को ठेक्का लगाइएको, र पालिकाका बहुसंख्यक नागरिकलाई अपायक पर्ने भन्दै कार्यपालिका बैठकबाट पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय भएको थियो ।

पछि बेगका स्थानीयबासीको विरोध भएपछि गाउँपालिकाले पुनः बेगमै अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालको लागि बेगमा साढे ७ रोपनी जग्गा व्यवस्थापन भैसकेको बताएपनि भवन निर्माणको लागि ठेक्का लगाउने काम समेत अझै भएको छैन् । अर्कोतर्फ गाउँपालिकाले थप अर्को अस्पतालको योजना समेत माग गरेपछि रघुगंगामा अस्पताल ‘सेतो हत्ती’ बन्ने जोखिम बढेको छ ।

मन्त्रालयबाट तोकिएर आएको बेगको अस्पताल योजना कायमै राखेर पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १० शय्याको अर्को अस्पताल बनाउनका लागि कार्यपालिका बैठकबाट निर्णय गरि सम्बन्धित मन्त्रालयमा पठाईएको भएपनि अहिलेसम्म कुनै पनि ठाउँमा अस्पताल बनाउने योजनाको काम अघि बढेको छैन् ।

यसअघि गाउँपालिकाको केन्द्र मौवाफाँटमा २५ बेड क्षमतको अस्पतालको लागि जग्गा व्यवस्थापन सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकिएको थियो । अस्पताल जस्तो सम्बेदनशिल योजनामा जनप्रतिनिधिकोे राजनीतिक लाभ र दाउपेचमा रघुगंगाको अस्पताल योजना अन्यौल बनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब तीन वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० बेड क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

यस बिचमा बेग र पिप्लेबाट आ–आफ्नै क्षेत्रमा अस्पताल बढाउन विभिन्न दबाब र विरोध भएपछि २०७७ पुस १५ गते बसेको गाउँसभाले बेगका लागि तोकिएर आएको अस्पताल योजनालाई बेगमै बनाउने निर्णय गरेको थियो । २०७८ भदौ ९ गतेको कार्यपालिका बैठकले बेगको अस्पताल योजनालाई यथावत राखेर पिप्ले स्वस्थ्य चौकी स्तरोन्नती गरि पिप्लेमा समेत थप एक अस्पताल बनाउने निर्णय गरेको थियो । एउटै स्थानीय तहमा दुई अस्पतालको माग भएपछि मन्त्रालयबाट बजेट विनियोजनमा समेत अल्झन भएको जनाइएको छ ।

Leave a Reply