राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नती रोकिदाँ दैनिक उपभोग्य सामग्रीको मूल्य अकासिएको छ। म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्डको निर्माणमा ठेकेदारको ढिलासुस्तीले यात्रुसँगै सर्वसाधारण महँगीको चपेटामा परेका छन् ।

बेनी-मालढुङ्गा सडक कालोपत्रको काम अलपत्र परेपछि म्याग्दीमा भित्रिने खाद्यान्न,निर्माण साम्रागी तथा अन्य सामानहरू मालढुङ्गा हुदै बागलुङ-बेनी खण्डबाट ओसारपसार गर्नुपर्दा ढुवानी खर्चमात्रै प्रतिकेजी १ देखि डेढ रुपैयाँसम्म बढेको छ ।मालढुङ्गाबाट म्याग्दीको सदरमुकाम बेनी दूरीका हिसाबले १३ किमि टाढा पर्छ भने बागलुङबाट १८ किमि टाढा छ ।

५ किलोमिटरको ढुवानी मुल्यका कारण चालमको प्रति बोरामै ५० रुपैयाँभन्दा बढी महँगिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘सडक अलपत्र पर्दा भाडा दरदेखि सर्वसाधारणको भान्सा समेत महगो भएको छ,‘सडक समयमै सम्पन्न गर्न सबैले दवाव दिनुपर्छ’ अध्यक्ष कटुवालले भने ।उनले बागलुङबाट सामान ल्याउने ब्यापारीले ढुवानी खर्च नै महँगो पर्ने भएकाले हरेक सामानको मूल्य बढाएर पठाउने गरेको बताए । हरेक सामानको ढुवानी खर्चमात्रै प्रतिकेजी १ देखि डेढ रुपैयाँसम्म बढेको छ।

बेनी-मालढुङ्गा सडक कालोपत्रे नहुदाँसम्म बागलुङ हुदै साँघुरो र घुमाउरो सडकबाट ढुवानी गर्दा हरेक बस्तुको सामान महंगो भएको अध्यक्ष कटुवालले बताए । त्यस्तै बेनी-मालढुङ्गा हुदै पोखरा, काठमाण्डौ जाने यात्रुले समेत बेनी–बागलुङ खण्डको प्रयोग गर्दा महँगो भाडा तिरेर यात्रा गर्नु बाध्यता बनेको छ ।

छोटो र सहज दुरीको सडकखण्ड अलपत्र पर्दा समेत सरोकारवाला निकायको चासो नपुग्दा यात्रुदेखि उपभोक्तासम्मले सास्ती र महँगीको मारमा पर्नुपरेको छ ।

आर्थिक र समयको आधारमा सहज र छिटो हुने बेनी–मालढुङ्गा सडकलाई समयमै सम्पन्न गर्न म्याग्दीबासीले माग गरेपनि अगतिलो ठेकेदारको कारण अहिले अलपत्र परेको छ । विस २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि अहिले सम्म ४२ प्रतिशत मात्र काम भएको छ उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर आयोजना अतर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनीसडक स्तरोन्नतिका लागि वि.स.२०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु.५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका प्रमुख धुब्रकुमार झाका ०८० पुससम्म म्याद थप भएको बताए।‘थप गरिएको अवधि समेत अब दुई महिना मात्र बाँकी छ,‘गत वर्षनै सम्पन्न हुनुपर्ने सडक भएपनि ठेक्का सम्झौता अुनसार निर्माण सामाग्रीको प्रयोग गर्न नपाएपछि ढिलाई भएको हो’ प्रमुख झाले भने ।

उनले निर्माण ब्यवसायीलाई भुक्तानीको कुनै समस्या नभएको बताए । बेनी नगरपालिकामा मेयर सुरत केसीको कार्यकक्षमा भएको छलफलमा मेयर केसीले समेत समयमै काम सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए। ‘निर्माण साम्रागीको अभाव हुदैन,‘समयमै काम सम्पन्न गरी म्याग्देलीलाई सहज आवतजावतको वातावरण बनाइदिनुहोस्’ मेयर केसीले भने ।

उनले ठेकेदार एपेक्स–खड्का–कृष्ण जेभीका प्रतिनिधिलाई समेत निर्माण साम्रागीका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए । ‘यो बाटो नबन्दा म्याग्देलीले दैनिक महंगीको सामाना गर्नुपरेको छ,‘कुनैपनि अवरोधलाई पन्छाउँछौ, निर्माणकार्य अब नरोकियोस्’ मेयर केसीले भने ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडकमा रहेका ठुला ठुला खाडल, हिलो र ढुंगा तथा पहिरोका कारण जोखिमपुर्ण बनेको छ। मालढुंगादेखि वेनी सम्मको १३ किलोमिटर पार गर्न २० मिनेटको गन्तब्य अहिले करिब १ घण्टा समय लाग्ने गरेको छ।

 

 

Leave a Reply