घरेलु कामदारको रूपमा कुवेत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाल बिचल्लीमा परेकी छिन्। जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महीनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ बर्षिया चोखालले अहिले उद्धारको याचना गरेकी छन् ।

श्रीमान गोविन्द बहादुर चोखालको उपचारका लागि भारतमा पुगेकी हिराकुमारीलाई त्यहाँ भेटिएका काठमाण्डौका दलाल ग्याल्पा लामाले ५० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको भन्दै फ्रि भिसा र फ्रि टिकटमा एक कम्पनीमा पठाएका थिए ।

कुवेतमा पुगेको भोलीपल्टै एजेन्टले माटो रकम लिएर कुवेतीको घरमा बेचेपछि अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको हिराकुमारीको भनाई छ । ‘ठूलो परिवारमा भोकभोकै काम गर्नुपर्छ,‘परिवारका सबै मिलेर पालैपालो यातना दिन्छन्’ चोखालले भनिन् ।

कुवेतमा पुगेपछि भारतबाट पठाउने दलाल लामाका एजेन्टले एक कुवेतीको घरमा ८ सय कुवेती दिनारमा बेचेपछि आफूमाथि निरन्तर चर्को श्रम शोषणमा गरेको उनले बताईन् । ‘श्रीमानको उपचारमा सधै मागेर नपुग्ने भएपछि कमाउन आएको थिए,‘भोकभोकै काम गर्नुपर्दा बिरामी भएको छु’ चोखालले भनिन् ।

उनले बिहान ५ बजेदेखि राति १० बजेसम्म कामैकाम मात्र गर्नुपर्ने र बिरामी भएको र अलिकति काम बिगार्ने वित्तिकै पालैपालो पिट्ने,तलबसुविधा नदिने, जुठो र बासी खानेकुरा दिने गरेको बताईन् ।

‘साना बालबालिकालदेखि साहुले पिट्छन्,घरपरिवारको फोटो देखाएर समस्या सुनाउँदा झनै यातना दिन्छन्’पीडित चोखालले भनिन् ।

उनले घरमा काम गर्ने नेपालीसँग समेत बोल्न नदिने र तोकिएको काम गर्न नसके कुटपिट गर्ने गरेको बताउँदै घर फिर्तीका लागि सहयोग गर्न अपिल गरेकी छन् । चोखालका श्रीमान गोविन्दले श्रीमतिलाई राम्रो जागिर र तलबसुविधाको प्रलोभन देखाएपछि उपचारको क्रममा भारतमा रहदाँ सहमितमै कुवेत पठाएको बताए ।

‘मेरो उपचारमा धेरै खर्च लाग्छ,छोराछोरीको पढाईमा पनि सजिलो हुन्छ भनेर पठाएको थिए,अहिले श्रीमतिले रुदैं फोन गर्छिन’ गोविन्दले भने ।

सुगर, प्रेसर, मुटु लगायत शरीरमा समस्या देखिएपछि गोविन्दले नियमित उपचार गर्न खर्चको अभाव भएको बताए । श्रीमतिको उद्धार गरी घर पठाइदिन कुवेतमा रहेका म्याग्देलीलाई समेत अनुरोध गरेका छन् ।

बेनपा–९ काउँलेगौडाका स्थानीय यूवा चिरञ्जीवि सुबेदीले पीडित हिराकुमारीको परिवार आर्थिक रुपमा अत्यन्त विपन्न भएको बताए ।

उनले श्रीमानको उपचारमा समुदायबाट सहयोग समेत जुटाइएको र सकिएपछि थप उपचारका लागि कुवेत गएको बताए । ‘विहानबेलुकी खान समेत धौ–धौ छ, बालबालिकाको विचल्ली भएको छ’ सुबेदीले भने ।

यता मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले पीडित चोखालको समस्या समाधानको पहल भइरहेको बताए । ‘अबैधबाटो बाट आउनेको धेरै समस्या छ, उद्धार र कानुनी प्रक्रिया नै जटिल छ’ अध्यक्ष छन्त्यालले भने ।

उनले दलालको प्रलोभनमा भारतीय बाटोबाट आएका म्याग्देली चेली घरेलु कामदारमा पठाउने गरिएकाले उद्धारमा समस्या हुने बताए।

‘श्रमस्वीकृति नभएको घरेलु कामदार बनेर कुवेत नआउन अपिल गर्दछु,‘घरेलु कामदार भाग्दा पनि चोरीको आरोपमा फसाउने गर्दछन्, दुताबासबाट पनि घरफिर्तीको प्रक्रिया निकै झन्झटिलो हुन्छ’अध्यक्ष छन्त्यालले भने ।

कुवेतमा भारत हुदै अवैध मार्गबाट आएका घरेलु कामदारको रुपमा कार्यरत अन्य म्याग्देली चेलीले समेत उद्धारको अनुरोध गर्ने गरेको मोना कुवेतले जनाएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमान लगायतका मुलुकमा महिला कामदार पठाउने गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढ समेत नभएका हुदाँ समस्या भएको मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए।

उनले अशिक्षित, विना तालिम, कानुनी प्रक्रिया छलेर गएका घरेलु कामदारलेआफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुने हुँदा उद्धारमा थप समस्या हुने गरेको बताए ।

‘घरेलु कामदारलाई गैरकानुननी बाटो मृत्यु मार्ग जस्तै हो,‘गैरकानुनी रूपमा खाडी पुगेका महिलाले धेरै नै समस्या झेल्नुपरेको छ’ कोषाध्यक्ष फगामीले भने। खाडीमुलुकमा अवैध बाटोबाट पुगेका नेपाली महिलाहरूलाई एजेन्डले घरेलु कामदारमा बिक्री गर्ने गरेकाले समयमै तलब नपाउने र अन्य समस्याहरू झेल्नुपरेको छ ।

Leave a Reply