---Advertisement---

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

On: November 23, 2023 6:06 PM
Follow Us:

प्रविधि, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्धेश्यसहित प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो ।

केहीदिन अघिमात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाइ र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै थप सम्बन्ध बिस्तारको सुरुवात गरेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविले विगत केही वर्षदेखि विद्यालयमा चिनियाँ भाषा अध्यापन पनि गराउँदै आएको छ । पछिल्लो समय विश्वमै चिनियाँ भाषाको महत्व पनि बढेको छ । चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेको प्राचार्य सापकोटाले बताए ।

चिनियाँ शिक्षण संस्थाले अवलम्बन गरेको शैलीलाई अपनाउन सके नेपाली शैक्षिक प्रणालिमा अहिले भन्दा व्यापक परिवर्तन ल्याउन सक्ने उनले बताए । ‘जापानको शैक्षिक संस्थासँग एकतहको सम्झौता भइसकेको छ । अब चिनियाँ शिक्षण संस्थासँग पनि सम्बन्ध बिस्तार गर्ने योजनामा छौ । यसले हाम्रो शिक्षण पद्धतिमा सुधार ल्याउने अपेक्षा हो,’ उनले भने ।

चीनको बेइजिङ इन्टरनेशनल चाइनिज कलेजकी डिन कुइ फानले चिनियाँ भाषा र संस्कृतिप्रति लगाव राख्ने नेपाली विद्यार्थीलाई यसअघि नै छात्रवृत्ति दिन थालिसकेकोले आगामी दिनमा प्रतिभा माविसँग यस विषयमा थप सहकार्य गर्न सकिने बताइन् ।विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता सम्बन्धले विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने बताए । ।