हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिन्छ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीका लागि आर्थिक कारोबारका लागि चीनको (नेचुङ–लिजी) खुलेसँगै नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ।

आर्थिक कारोबारका लागि नेचुङ–लिजी नाका खुलेपनि नेपालतर्फ भौतिक पूर्वाधार सहित सहज आवतजावतको वातावरण बनाउन सकेमा कोरला नाका हुदै कैलाश, मानसरोबरमा नेपालका अन्य नाकाबाट भन्दा सहज, छोटो अवधीमै पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए। ‘कोरला नाका धार्मिक पर्यटनका लागि पनि हब बन्छ,‘यहाँबाट कैलाश तथा मानसरोवर जान निकै सहज छ’ अध्यक्ष विष्टले भने।

उनका अनुसार पोखरा र काठमाण्डौबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै उपल्लो मुस्ताङ आएर कोराला नाका हुदै सवारीसाधनको प्रयोग गरी माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जान सकिने बताए।‘सस्तो खर्चमा सहजै पुग्न सकिन्छ,अहिले नै आवतजावतको प्रवन्ध नभएपनि धार्मिक पर्यटकलाई नाका खुल्ला भए नेपालका अन्य नाकाबाट भन्दा यहाँबाट सजिलै जान सकिन्छ’अध्यक्ष विष्टले भने।

मुस्ताङीलाई आर्थिक कारोबारका लागि चिनियाँ पक्षले नाकामा सहज प्रवेश दिएसँगै नेपाली भूभागमा भौतिक संरचना तयार गरी धार्मिक गन्तब्यका लागि समेत कोराला नाकालाई प्रयोग गर्न सकिने अध्यक्ष विष्टको भनाई छ।चिनियाँ अधिकारीले उपल्लो मुस्ताङका जनप्रतिनिधिहरूसँग माउन्ट कैलाश पर्वत तथा मानसरोवरसम्म जानका लागि समेत नाका खुल्ला गर्ने संकेत बेला–बेलामा गर्ने गरेका छन् ।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् । मुस्ताङको बाटो हुदै कैलाश मानसरोवर जान काठमाण्डौबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुदै मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ। हवाईमार्ग हुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दुरी पार गरेपछि लोमन्थाङ हुदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ।

नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताए ।उनका अनुसार तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन समेत आधुनिक भएकाले यात्रा निकै सहज हुने बताए।जोमसोमबाट उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जालमा पुगेकाहरू एक रात लोमान्थाङमा विताएर अर्कोदिन विहानै करिब आधाघण्टाको यात्रापछि मुस्ताङ र तिब्वतको नाकामा पुग्न पनि सकिन्छ।

अहिले भारतीय मार्ग हुदै जाँदा एउटै धार्मिक पर्यटकले २ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने भएकाले धार्मिक पर्यटकलाई समेत सहज हुने गरी नाका सञ्चालनको वातावरण बनाउन लोमन्थाङ गाउँपालिका–५,का वडा अध्यक्ष डुकके विष्टले अनुरोध गरे।यता मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचनले मुस्ताङबासीको समृद्धिका लागि कैलाश मानसरोवरसम्मको यात्रा नेचुङबाट सहज बनाउँदा कोसेढुंगा सावित हुने भएकाले नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

‘धार्मिक पर्यटकलाई कम खर्चमा मुस्ताङको रुट प्रयोगमा प्रोत्साहन गर्नुपर्छ,नाकामा संरचना बनाउन निरन्तर दवाव दिइरहेका छौ’ प्रतिनिधिसभा सदस्य गौचनले भने। हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ।कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ।हालै प्रधानमन्त्री पुष्पकमल दाहालले चिनको भ्रमणको क्रममा कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकन गरेपछि नेपाली नाकाबाट सहजै धार्मिक पर्यटक आवतजावतका लागि पूर्वाधार विस्तारमा प्राथमिकता दिने बताएका थिए।

Leave a Reply