म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी कारवाहीका लागि सहज भएको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने क्रममा दलालबाट ठगिएका, अलपत्र परेका र सम्पर्कविहिन भएकाको खोजीकार्यमा आप्रवासी स्रोत केन्द्रले काम गरिरहेको छ ।

गएको असार महिनादेखि जिल्लाका सबै स्थानीय तहको आर्थिक ब्यवस्थापनमा जिल्ला समन्वय समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा रहेको केन्द्रले ११ सय २७ जना पुरुष र ७ सय ६१ जना महिला गरी ११ सय ८८ जनालाई सूचना तथा परार्मश दिएको केन्द्रकी सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलले बताइन् ।

‘बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्नेमा केन्द्रित छौ,‘सिमित स्रोतसाधन भएपनि उपलब्ध सेवा दिन निरन्तर खटिएका छौ’ पौडेलले भनिन् । उनका अनुसार हालसम्म केन्द्रबाट घरेलु कामदारका रुपमा कुवेतमा फसेका २ जना महिला र भारतमा हराइरहेका एक पुरुषको उद्धार तथा खोजीकार्य भइरहेको छ ।

सिपमुलक तालिममा ३० जनालाई सिफारिस गरिएको छ । मृत्यु, अंगभंग तथा स्वास्थ्य सम्बन्धि समस्या भएका २ जनाको बिमा सम्बन्धि सहजीकरण समेत अन्तिम चरणमा पुगेको केन्द्रका अर्का सहजकर्ता खगेन्द्र थापा मगरले बताए । केन्द्रले साउदी अरवमा मृत्यु भएका एक म्याग्देलीको शब ल्याइएको र आर्थिक सहायताका लागि समेत पहल गरेको बताए । केन्द्रमा हालसम्म ११ जनाले दलालका कारण ठगिएको गुनासो गरेका छन् ।

ठगिएकाहरूमध्ये २ जनाको ५ लाख २७ हजार पीडितलाई फिर्ता भएको छ । राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुलेका तर पछि सम्पर्कविहीन हुँदा दलालको चंगुलमा परेकाहरू अहिले केन्द्रमा उजुरी लिएर आउने गरेका छन् । प्रमाण नभएकै कारण दलाल तथा कम्पनीबाट ठगिएकाहरूले सम्बन्धित निकायमा गएर मुद्दा दिन समस्या भइरहेकाले पैसा दिएको प्रमाण सुरक्षित राख्न समेत केन्द्रका कर्मचारीले पीडितलाई अनुरोध गर्ने गरेका छन् ।

मेनपावर कम्पनीका एजेन्टलाई दिएको रकम दिएको प्रमाण तथा कागजपत्र सहित उजुरी दिएमा कानुनी प्रक्रिया अगाडी बढाउन सजिलो हुने केन्द्रले जनाएको छ।जिल्ला समन्वय समितिमार्फत म्याग्दीका सबै स्थानीय तहले केन्द्रका कर्मचारीको तलबसुविधा उपलब्ध गराउने गरेपनि प्रयाप्त संरचना र उपकरणको अभावका कारण कर्मचारीलाई केन्द्र सञ्चालन गर्न समस्या भइरहेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लाका सबै स्थानीय तहमा वैदेशिक रोजगारीमा जाने चाहने र त्यहाँ पुगेपछि भोग्नुपर्ने समस्या र चुनौतीहरूका बारेमा जानकारी गराउन सकिने बताए ।

‘केन्द्रलाई अझै प्रभावकारी बनाउन आवश्यक छ, संरचनाको अभाव भएकाले अहिले प्रशासनको बाहिरी कक्षमा राखिएको छ’ जिसस प्रमुख थापाले भने ।उनले म्याग्दीबाट वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या समाधानका लागि समुदायस्तरमा समेत कानुनी सहायता प्रदान गरिने बताए ।

वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेकालाई सहायता दिने र न जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि विदेशमा काम गर्दा र फर्कंदासमेत आइपर्ने समस्या सहित सूचनामुलक जानकारी दिने गरिएको छ। जिल्लाका स्थानीय तहले रोजगार शाखाबाट श्रम स्वीकृति लिन, पुनः स्वीकृतिका लागि अनलाइन आवेदन लिन थालेकाले त्यहाँ आएका समस्यालाई समेत केन्द्रमा पठाउने गरिएको छ।

Leave a Reply