करिब वि.सं. १९७० सालतिर स्वर्गद्वारीधाम प्युठानका बालानन्द चैतन्य महाप्रभुका चेला (शिष्य) स्वामी कपिलानन्द गिरीजी मालिका गाउँपालिका वडा नं. ७ बिम अवस्थित प्रभुचेला धुरीमा आई स्वर्गद्वारी धार्मिक परम्परागत हवनकुण्ड कुटी संरचना निर्माण गरी उक्त कुटीलाई बासस्थानको रुपमा प्रयोग गरेका थिए र हवनकुण्डमा अग्नि हवन साधना गरेर बसेका थिए भन्ने अनुमान त्यस ठाउँमा अहिलेसम्म रहेको अवशेषहरुको आधारमा सहजै दाबी गर्न सकिन्छ भने अर्कोतर्फ वि.सं. २०७९ सालमा स्वर्गद्वारी धाम प्युठानबाट आएको विज्ञ साधु सन्तहरुको एक समूह आई उक्त स्थानको स्थलगत भ्रमण, अध्ययन र अवलोकन समेत गरेका थिए ।

त्यस स्थानमा ती साधु सन्तहरुले पाईला राख्नासाथ चैतन्य उर्जाको अनुभूति गरिहाले । त्यसपछि हवनकुण्डको छेवैमा रहेको बाँझवृक्षको फेदमा तपस्वीले ध्यान तपस्या गरेको र त्यस स्थान भन्दा पचास मिटर माथिल्लो स्थानमा सिद्धथान रहेको कुरा ठहर गर्नुभएको थियो ।

यसरी सम्बन्धित धामका सम्बन्धित विज्ञ एवम् व्यक्तित्वहरुले त्यस स्थानलाई तपोस्थलको रुपमा उद्घोष गरिदिएका थिए । यही कारण त्यस पावनभूमि तपोभूमिलाई मूलाधार बनाई दोस्रो खण्डमा विभिन्न मौलिक संरचनाहरु जस्तै गोलघर ध्यानाश्रम (मौन साधना ध्यानस्थल) एकल ध्यान साधना स्थल, सामुहिक ध्यान तथा प्रवचन स्थल, गुफा ध्यान स्थल, ट्री हाउस ध्यान स्थल, आवासीय स्थल, पुस्तकालय, संग्रहालय, फूलबारी आदि ईत्यादि निर्माण गरी त्यहाँ आउने पर्यटकहरुलाई मनग्ये सुविधाको व्यवस्थापन गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी तेस्रो खण्डमा नमूना वन, गौशाला वन र जडीबुटी वन रहने छ । यसमा साथै हाइकिङ यात्राका लागि अनुकूल स्थानहरुमा पदमार्ग निर्माण गरी त्यहाँ आउने पर्यटकहरुलाई प्राकृतिक अनुपम सुन्दर दृश्यहरुको दृश्यावलोकन गरी रम्ने, रमाउने र प्राकृति जीवन शैलीमा जिउन सिक्ने अनि सिकाउने प्रभुचेला धुरी ध्यानाश्रम समितिको भावी योजना रहेको छ ।

मानव सभ्यताको विकाससँगै अचेल मनुष्यहरु जति जति व्यस्तताको कुरा गर्छन् त्यतित्यति अस्तव्यस्त जीवन बाँचिरहेका छन् । असन्तुलित जीवन बाँचिरहेका छन् । जतिजति शिक्षित हुँदै गएका छन्, त्यतित्यति असभ्य एवम् अमानवीय जीवन बाँचिरहेका छन् ।

जतिजति आधुनिक सभ्यताको चर्चा गर्छन् त्यतित्यति अखाद्य खानपानमा लिप्त हुँदै बाँचिरहेका छन् । जसको फलस्वरुप मान्छेहरु बाहिरबाट जतिसुकै रंगिए पनि शरीरभित्र अनेकौं रोगहरु बोकेर हिँडिरहेका हुन्छन् । बाहिरबाट जतिसुकै महँगो गरगहना र लुगाफाटोले सजिए पनि मनभित्र अनेकौं पीडा बोकेर हिँडेका हुन्छन् ।

त्यसैले भौतिक रुपमा उन्नतिशील, प्रगतिशिल, समृद्ध र सफल जिन्दगी देखा परे पनि मानिसहरु भित्रभित्रै रोगी छन्, दुःखी छन्, उदास छन्, निराश छन्, खोक्रा छन् । उसले आफू स्वयंभित्रको आनन्द र सुन्दरतासम्म पुग्ने मार्गलाई रोज्ने चेष्टा गरेको छैन । आध्यात्मिक रहस्यलाई खोज्ने साहस गरेको छैन ।

यही कारण मनुष्यले अपार जिन्दगी पाएर पनि बेकार भएको छ । हिरा सरी जिन्दगी पाएर पनि किरा सरी जिन्दगी बाँचेको छ । यसकारण मनुष्यहरु भित्रभित्रै तड्पिरहेको छ, जलिरहेको छ र मनुष्यको अवचेतन मनले आध्यात्मिक बन्न उत्प्रेरित गरिरहेको छ । मनुष्यलाई उसको अन्तरात्माले ध्यान केन्द्रतिर धकेलिरहेको छ ।

म एउटा प्रासङ्गिक कुरा जोड्न चाहन्छु । जसरी बजारमा बेच्न राखिएका प्लाष्टिकका फूलहरुलाई झट्ट हेर्दा प्राकृतिक फूलहरु भन्दा कैयौं गुणा सुन्दर एवम् आकर्षक देखिन्छ र प्लाष्टिकको फुल देख्नेहरु मख्ख हुन्छन्, दंग पर्छन् तर यी दुई किसिमका फूलहरु आकाश जमिनको फरक छ ।

प्राकृतिक फूलहरुलाई हेर्दा प्लाष्टिकको फूल जस्तो सुन्दर आकर्षक नदेखे पनि यस फूलसँग सुगन्ध छ, रस छ, यस फूलसँग उर्जा छ किनकी यस फूलसँग जीवन छ । प्लाष्टिक फूलसँग आकर्षक छ, चमक छ तर यस फूसँग वास्तविक जीवन छैन ।

यसैले यति धेरै सुन्दर भएर पनि प्लाष्टिकको फूल मुर्दा छ । यसर्थ अचेल एक दुनियाँले मूर्दा फूल बेचिरहेको छ र अर्को दुनियाँले मूर्दा मूल खरिद गरिरहेको छ । यस्तैमा धोखाको खेल चलिरहेको छ ।

धोखा खाइरहेको छ । त्यसरी नै हामी बाँचेको जीवन पनि प्लाष्टिक फूल जस्तो निरस छ, फिका छ, मूर्दा छ। यसकारण हामीले बाँचेको जीवनबाट आनन्द रस आउन पाएको छैन । प्रेमको सुगन्ध फैलिन पाएका छैन साथै ज्ञानका फल फलित हुन पाएको छैन किनकी हामी बाँचेको जीवन पनि मूर्दा छ ।

मनुष्यभित्र पूर्ण जीवन छ, सुन्दर जीवन छ । मनुष्यभित्र आनन्दको रस छ, प्रेम र करुणाको सुगन्ध अन्तरनिहित छ, तर बीज जस्तो अंकुरित हुन पाएको छैन, असंख्य हाँगाबिंगासँग हराभरा हुन पाएको छैन । फूलले जस्तो आफ्नो सुन्दरता आफ्नो सुगन्ध प्रकट गर्ने सौभाग्य मनुष्यले पाएको छैन । मनुष्यले पनि एकदिन त्यो सौभाग्य अवश्य पाउनेछ, त्यो सौभाग्यको ढोकासम्म लैजाने मार्ग नै अध्यात्म हो ।

यसर्थ समयको यस मागलाई हामीले हृदयंगम गर्दै बिम प्रभुचेलाधुरीलाई आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास प्रवद्र्धन गर्ने दृढ अठोट लिएका छौं । आध्यात्मिक पर्यटकको एउटा प्रमुख पक्ष शारीरिक तन्दुरुस्तीसँगै मानसिक एवम् आध्यात्मिक स्वास्थ्यको महत्वलाई गहन रुपले अनुभूत गरुन् भन्ने उद्देश्य हो । आध्यात्मिक पर्यटनको समयमा गतिविधिहरु व्यापकरुपमा अन्य यात्रा भन्दा भिन्न हुन्छन् ।

प्रायः ध्यान, योग, प्रार्थना, समारोहहरु र आध्यात्मिक साधु, सन्त, गुरुहरुसँग अन्तरक्रियाहरु समावेश हुन्छन्, धेरै पर्यटकहरुले आन्तरिक शान्ति खोज्ने, स्पष्टता प्राप्त गर्ने वा दैनिक जीवनको हलचलबाट अलग हुने उद्देश्यले यी यात्राहरु सुरु गर्छन् । आध्यात्मिक पर्यटनको वृद्धिले मानसिकता र समग्र कल्याणमा टेवा पुग्ने र बढ्दो विश्वव्यापी चासोलाँई झल्काउँछ । पर्यटकहरुले प्रायः समृद्ध आध्यात्मिक इतिहास पवित्र स्थलहरु वा धार्मिक महत्वका केन्द्रहरु भएका शक्तिपीठ खोजेका हुन्छन् ।

यी गन्तव्यहरुमा प्राचीन मठ मन्दिरहरु तीर्थस्थलहरु तथा प्राकृतिक परिदृश्यहरु पनि समावेश हुन सक्छन् । जुन आध्यात्मिक रुपमा चार्ज भएको हुनाले त्यसबाट शारीरिक एवम् मानसिक रुपमा प्रत्यक्ष अप्रत्यक्ष फाइदाहरु पुग्नेछ ।

Leave a Reply