श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो ।

श्रीमानको उपचार, घरायसी प्रयोजनका लागि वित्तिय संस्थाबाट लिएको कर्जा,छोराछोरीको शिक्षादीक्षालाई सहज हुने गरी श्रीमान गोविन्दलाई घर पठाएर भारतबाटै फ्रि भिसा र फ्रि टिकटमा कुवेत पुगेकी हिराकुमारीलाई कुवेती एजेन्डले एक कुवेतीको घरमा ८ सय कुवेती दिनारमा बेचेपछि पाँच महिनादेखि निरन्तर चर्को श्रम शोषणमा परेकी छन् ।

हिराकुमारीजस्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटकी २४ बर्षिया एक यूवतीलाई आफन्तले आर्कषक जागिरको प्रलोभनमा गएको भदौ ७ गते कुवेत पठाएपछि अहिलेसम्म ४ वटा कुवेतीको घरमा बिक्री भइसकेकी छन् ।कुवेतमा एजेन्डसँगै कुवेती नागरिकले घरेलु कामदारका रुपमा कम्तिमा ६ महिनासम्म काम गर्ने गरी खरिद गर्ने गर्दछन् । कुवेतमा बेनपा–९ घतान, मालिका–१ निस्कोट र मालिका–७ बिमका तीन घरेलु कामदारले उद्धारका लागि त्यहाँ रहेका म्याग्देलीसँग याचना गरेका छन् ।

घरपरिवारलाई छोडेर दलालको प्रलोभनमा घरेलु कामदारका रुपमा कुवेतीको घरमा काम र भाषा नजान्द १८ घण्टासम्म एउटै कोठामा राखेर साहुले दुःख दिने गरेकोे पीडित हिराकुमारीले बताईन् ।‘हरेक दिन मृत्युको मुखमा पुगेर फर्किनुपर्छ,‘अबैधबाटोबाट आउने महिलालाई कुवेत मृत्युको मार्ग जस्तै रहेछ’हिराकुमारीले भनिन् ।

उनले हरेक दिन मानसिक यातनाका बिच कठोर काम गर्नुपर्ने,काम,तलब र अन्य सेवासुविधाका बारेमा कुनै जानकारी नहुने बताईन्। ‘खाडीमा घरेलु कामदारलाई बजारमा सामान किनेजस्तै रहेछ, यहाँ काम गर्ने, खाने र सुत्ने निश्चित समय हुदैन’हिराकुमारीले भनिन् । उनले मालिक र उनका परिवारको दैनिक यातना सहन नसकेर आँखाबाट आँसु झर्ने गरेको बताइन् । महिलालाई दलालको प्रलोभनमा अबैध मार्गबाट कुवेत नआउन समेत अपिल गरेकी छन् ।

 

‘बिन्ती छ, कोही पनि अवैध बाटोबाट नआउनुहोला, यहाँ कमाउने भन्दा गुमाउने धेरै नेपाली भेटिन्छन्’ हिराकुमारीले अपिल गदैं भनिन् । उनीजस्तै निस्कोटकी २४ बर्षिया यूवतीले अहिलेसम्म राम्रोसँग खाना र दलालले भने अनुसार काम गर्न नपाएको गुनासो गरिन् । ‘दलालले आफुँ अनुकुल पैसा पाए बिक्री गर्छ, गैरकानुनी रूपमा आउँदा सजिलै फर्किन पनि मुस्किल हुने रहेछ’ उनले भनिन् ।

नेपालले कुवेतलगायत खाडीमा घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला नगरेपछि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् ।पछिल्लो समय गैरकानुनी बाटो हँुदै कुवेत पुगेका म्याग्देली महिला कामदारले सहयोगको अपिल गरेको मोना कुवेतका महासचिव बिमल पुन मगरले बताए । ‘भारत हुदै आउनेलाई उद्धारमा समस्या हुन्छ, कानुनी प्रक्रिया समेत नबुझ्दा धेरै दुख पाउनुपरेको छ’ महासचिव पुन मगरले भने ।

घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध आउने गरेपनि गैरकानुनी तरिकाबाट पुगेकालाई सहजै उद्धारमा समस्य हुने गरेको छ । अवैध बाटोबाट गएकाहरू सजिलै स्वदेश फर्किन नसक्ने र कानूनी कारबाहीको डरले मालिकबाट जतिसुकै धाकधम्की र यातना पाए पनि बँधुवा मजदुरको रूपमा बस्नुपर्ने अवस्था रहेको म्याग्देलीको भनाई छ ।

घरेलु कामदारको रुपमा कार्यरत महिलाहरू भागेर दुतावास गएमा मालिकले चोरी, कुटपिट जस्ता विभिन्न आरोप लगाएर प्रहरीलाई बुझाउने गरेकाले समेत समस्य हुने गरेको छ । यता मोना अन्तराष्ट्रियका कोषाध्यक्ष एवम् मोना कतारका निर्वतमान अध्यक्ष नरेन्द्र फगामीले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै नेपाल सरकारले २०७३ सालमा प्रतिबन्ध लगाएको बताए ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले रोक लगाइएको अवस्थामा गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा जाँदा अनेक समस्या झेल्नुपरेको बताए ।

‘दलालको आश्वासनबाट कहिल्यै पनि खाडी नजानु,‘घरेलु कामदारलाई जान सजिलो छ, फर्किन निकै समस्या हुन्छ’ फगामीले भने । विभिन्न खाडीमु्लुकमा म्याग्दीबाट गैरकानुनी तरिकाबाट पुगेकाको तथ्याङ्क नभएकाले समस्या सधै आउने गरेको बताए ।

विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारी पाउने थिए ।

पछिल्लो समय गैरकानुनी बाटो हँुदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारलाई घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध विभिन्न देशबाट आउने गरेको बताए ।

खाडीमुलुकमा ‘घरेलु कामदार राख्न सक्ने हैसियत नभएका परिवार÷रोजगारदाताले समेत धनी रोजगारदातामार्फत महिला बोलाउने गरेको र बषौंसम्म बन्धक बनाएर राख्ने गरेकाले अब खाडीमा महिलालाई घरको काम गर्न पठाउन नहुने सन्देश म्याग्दीका स्थानीय तहले समेत बस्ती–बस्तीमा पु¥याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए ।

उनले जिससमार्फत स्थानीय तहको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा राखिएको आप्रवासी स्रोत केन्द्रमार्फत सचेतनामुलक कार्यक्रमलाई समेत तिब्रता दिने बताए। ‘घरेलु कामदारका लागि खाडी पठाउनुभन्दा यही उद्यमशिलता तालिम दिनुपर्छ,‘खाडी घरेलु महिलाका लागि विष सेवन गरेजस्तै भएको छ’ जिसस प्रमुख थापाले भने । म्याग्दीमा आप्रवासी स्रोत केन्द्रमार्फत सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न सके गैरकानुनी रुपमा जाने महिलाको संख्या न्यूनिकरणमा सघाउने बताए ।

महिलालाई घरेलु कामदारको साटो खुला कम्पनीमा काम गर्न आवश्यक सीप सिकाएर पठाउन सकिने भएकाले घरेलु कामदारका रुपमा नारकिय जिवन बाँच्न बाध्य भएर फर्किएकाहरूलाई सचेतनामुलक अभियानमा जोड्न सकिने जिसस प्रमुख थापाको भनाई छ।

अन्तर्राष्ट्रिय श्रमसंगठनका अनुसार कामदारलाई आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम र बिदाको सुविधा सहित श्रमस्वीकृति भएका देशहरूलाई गन्तब्य बनाउनुपर्नेमा सरोकारवाला निकायले जोड दिने गरेका छन् । खाडी मुलुकमा नेपाली महिलाहरूलाई कम्पनीको काम भनेर घरायसी काममा पु¥याउने र यौन शोषण गर्ने जस्ता आपराधिक क्रियाकलापमा नेपाली दलालहरू नै सक्रिय रहेको पाइएको छ।

 

Leave a Reply