म्याग्दीको बेनी नगरपालिका भित्र सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे र ढलान र केही कच्ची सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।

बिहिबार नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने पुल,फापरखेतको पहिरोसम्म, बेनपा–९ गलेश्वरको बेलिब्रिज,बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढुधेखोलासम्म नयाँ रुट तय गरिएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत यूवराज थापाले बताए ।   अटोरिक्सालाई कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी रुट बाहेक सञ्चालन गरेमा जरिवाना गरिने छ । थपिएका रुटमा नगरपालिकाबाट इजाजत लिएका अटो रिक्सा मात्रै सञ्चालन गरिने बताइएको छ । यात्रुले अटो रिक्सामा सवार गर्दा प्रतिकिलोमिटर साढे ७ रुपैयाँ भाडा समेत तोकिएको छ।

अटो रिक्साले कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई समेत मध्यनजर गरी नियमित अनुगमन तथा अटो रिक्साका चालकहरुलाई समेत सचेत बनाइने प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।  ‘अटो रिक्साले मनपरी भाडा लिएको गुनासो पनि छ,‘तोकिएको भाडादरमै गन्तब्यसम्म लैजानुहोला’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

गौरीधाम यातायात प्रालिद्धारा सञ्चालित अटो रिक्साका सञ्चालन विकास कुँवरले इजाजत दिइएको रुटको भाडादर पेट्रोलियम पदार्थको मुल्य अनुसार भाडादर समायोजन गर्न अनुरोध गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि आकासिँदा पनि प्रतिकिलोमिटर कायम गरिएको भाडादर कायमले खर्च धान्न पनि मुस्किल हुने बताए ।

उनले पेट्रोलबाट चल्ने भएकाले अटो रिक्साको भाडादर समयअनुकुल समायोजनका लागि अनुरोध गदैं नगरपालिकासँग सहकार्य गरी यात्रुलाई सुरक्षित र सहजरुपमै गन्तब्यमा पुर्याउने बताए ।

बैठकमा मेयर केसीले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि अनुसार कारवाही गर्ने बताए ।

उनले नगरपालिकाबाट अनुमति नलिएका अटोलाई नगर प्रहरीले नियन्त्रणमा लिएर जरिवाना समेत तिराउने बताए । बेनी नगरपालिकाभित्र १० वटा अटो रिक्सा सञ्चालनको अनुमति भएपनि हालसम्म ६ वटाको नम्बर कायम गरिएको छ भने ४ वटाको रुट कामय गरिने छ ।

Leave a Reply