बेनीबजारस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठ र गायिका धन छन्त्याल श्रेष्ठलाई सम्झिएका छन् ।

बेनीबजारलाई विश्वभर चिनाउने र अहिले पनि उत्तिकै लोकप्रिय गीतका सर्जक स्वर्गीय टीकाबहादुर र हाल जन्मथलो म्याग्दीबाट बसाइँ सरी रूपन्देहीमा रहनुभएकी धर्मपत्नी एवम् गायिकाको धनको गीत सहित तस्वीर भित्ते लेखनमार्फत गरी नयाँ पुस्तालाई समेत जानकारी दिने प्रयास गरिएको टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

‘हामीले उहाँहरुलाई सधै सम्झिन्छौ, यो पहिलो प्रयास हो, सधै सम्झना हुने गरी काम गर्ने योजना बनाइरहेका छौ’ अध्यक्ष श्रेष्ठले भने । ८० बर्ष पूरानो पिपलको चौतारीमा प्रवेश गर्ने अपाङमैत्री संरचना नजिकै भित्तामा चित्र बनाएर गीत सहित राखिएको बताउँदै डिजिटल सहित गीत समेत सुन्न मिल्ने बनाउने समेत सोच रहेको अध्यक्ष श्रेष्ठले बताए ।

वि.स २०७७ साल चैत्र महिनामा ७५ वर्षको उमेरमा सर्जक श्रेष्ठको निधन भएको थियो । ‘बेनीको बजार’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि यसले निकै चर्चा कमाएको थियो ।

श्रीमती मन छन्त्याल र टीकाबहादुरको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ ।२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार’ गीत गाइएको थियो । उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको थियो ।

बिरेन्द्रचोक टोल विकास संस्थाले सर्जकद्धयको सम्मानमा देखाएको चासोका बारेमा प्रशंसा गरिएको छ । म्याग्दीको प्रमुख प्रशासकीय कार्यालय रहेको बिरेन्द्रचोकमा टोलबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान अन्तरगतआफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल लगाएका छन् ।

सार्वजनिक धारा, ८० बर्ष पूरानो पिपलको चौतारीमा विभिन्न संघसंस्थाको सहयोगमा बटुवालाई फलामको बेन्च, सार्वजनिक धारामा शुद्ध खानेपानीका साथै नियमित सरसफाई सहितका गतिविधि गर्ने गरिएको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकबासीले आफ्नै लगानीमा टोल बनाउने कार्यले विभिन्न सरकारी निकायबाट समेत सम्मान समेत प्राप्त गरेको छ ।

Leave a Reply