म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले संसारको सातौँ अग्लो धौलागिरी हिमालको इटालियन बेस क्याम्प नजिकैको डाँडामा पदमार्ग र ‘मोना भ्यु पोइन्ट’ बनाएको छ ।  धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पर्यटकलाई इटालियन बेस क्याम्प आसपासको हावापानीमा घुलमिल हुने गरी ५ लाखभन्दा बढी खर्च गरी पदमार्ग र आरामका लागि भ्यू प्वाइन्ट बनाएर स्थानीयलाई हस्तान्तरण गरिएको छ

धवलागिरी गाउँपालिका वडा नं ४ का वडा सदस्य हरि तिलिजाको नेतृत्वमा सम्पन्न भएको उक्त पदमार्ग र भ्यू पोइन्ट मोना हङकङका अध्यक्ष पुनमगर र सचिव फगामी पुगेर समुदायलाई हस्तान्तरण गरेका छन् । धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पदयात्रीहरू इटालियन क्याम्पमा दुई रात बस्छन् ।

माथिल्लो क्षेत्रको हावापानी अनुकुल बनाउन बेसक्याम्प नजिकै रहेको डाँडामा स्वदेशी तथा विदेशी पर्यटक जाँदा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी पदमार्ग र केही समय आराम गर्न भ्यु पोइन्ट बनाएको मोनामोना हङकङका अध्यक्ष कर्ण पुन मगरले बताए । ‘स्थानीय समुदायलाई गरेको बाचा पूरा गरेका छौ,‘अब पदमार्ग हुदै आवतजावत समेत सहज भएको छ’ अध्यक्ष पुनले भने ।

करिब ३८ सय मिटर अग्लो डाँडालाई भ्यु पोइन्टमा करिब २० जनाभन्दा बढी बस्न मिल्ने बनाइएको मोना हङकङका सचिव जेवेन्द्र फगामीले बताए । गतबर्ष असोज २६ गते आशाकी ट्रेक्स एण्ड एक्सपिडिसनको प्राविधिक सहयोगमा मोना हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रमोद गिरि,सचिव जेवेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा पुन, र पूर्व अध्यक्ष इन्द्र एलजी सहित अन्य २५ जनाको टोली बेसक्याम्प पुगेका थिए ।

उक्त टोलीले स्थानीयबासीलाई सहयोगसँगै इटालियन बेसक्याम्पमा पदमार्ग र भ्यु पोइन्ट बनाउने प्रतिबद्धता समेत जनाएका थिए । पदमार्ग र भ्यु पोइन्टले स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको स्थानीयबासीको भनाई छ ।

Leave a Reply