घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो ।

आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी कुवेतीको घरमा विगत पाँच महिनादेखि मानसिक र शारीरिक यातना भोगेकी थिइन् । उनी सोमबार विहान काठमाण्डौमा आइपुगेकी छन् ।

पीडित आफ्नै तलबबाट टिकट लिएर सोमबार विहान त्रिभुवन विमानस्थलबाट अमृतसार नेपालको सहयोगमा सेन्टरमा पुगेकी छन् । जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाललाई कुवेतीले दैनिक १८ घण्टासम्म काममा लगाएर यातना समेत दिएको गुनासो सहित सहयोगको याचना गरेको करिब दुईसातामा उद्धार भएको छ ।

५० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको कुवेतीको एक संस्थामा काम गर्ने भनी फ्रि भिसा र फ्रि टिकटमा लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा काम गर्न बाध्य बनाइएपछि बेनीअनलाइन, नागरिक दैनिकमार्फत उद्धारको याचना सार्वजनिक भएको थियो ।

पीडित चोखालको समाचार सार्वजनिक भएपछि कुवेती नागरिकको घरबाट कुवेती एजेन्टको अपिसमा राखि सोही ठाउँबाट घर पठाइएको हो । ‘मलाई कुवेतीको घरबाट एजेन्टको अपिसमा लगेपछि कुनै समस्या भएन, सबैको साथ र सहयोगले नेपाल फर्किन पाएको छु’ हिराकुमारीले बेनीअनलाइनलाई भनिन् ।

उनले नेपालमा फर्किएपछि निकै उत्साहित भएको र उद्धारमा सहयोग गर्नेलाई जिवनभर नविर्सिने बताईन् । उनले कुवेतीले करिब २५ दिनको तलब समेत नदिएको बताईन् ।

एक महिनाको तलबबाट एजेन्टले नेपाल फर्किने टिकट काटिदिएर बाँकी रहेको १७ हजार नेपाली दिएको चोखालको भनाई छ । भारतबाट दलालले कुवेतमा पठाएर एजेन्टले कुवेतीको घरमा बिक्री गर्ने गरिन्छ ।

पीडित हिराकुमारीको उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तराष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समेत लगातार सक्रियता देखाएका थिए । मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले घरेलु कामदार चोखालको उद्धारका लागि गरिएको प्रयास सफल भएको बताए।

उनले यो अभियानमा अलपत्र परेको खवरपछि नेपाली दुतावाससँग समेत समन्वयमा एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामाले समेत निरन्तर साथ दिएको बताए । यसैबीच पीडित चोखाललाई काठमाण्डौस्थित अमृतसार नेपालले त्रिभुवन विमानस्थलबाट उद्धार गरी थप सहयोग सहित घर पठाउने भएको छ । संस्थाकी सुपरभाइजर सुमित्रा बस्नेतले पीडितलाई आवश्यक सहयोग गरी सुरक्षित घर पठाउने बताईन्।

 

 

Leave a Reply