कुनै समय निकै लोकप्रिय मानिने आर्ट अहिले पाउनै मुस्कील हुन थालेको छ । म्याग्दीको बेनी क्षेत्रमा हेर्ने हो भने पनि १५÷२० वर्ष पहिला निकै राम्रो आम्दानीको श्रोत र कमाउन सक्ने मजबुत व्यवसाय मानिने भए पनि अचेल त्यो व्यवसाय देख्न पनि मुस्कील प्राय छ ।

ठूला भिडभाग अनि आकर्षक महोत्सवहरुमा हुने ठूला ब्यानरहरुमा लेखिने शब्दहरु अचेल प्रिन्ट भएर आउन थालेसँगै उनीहरु बिस्थापन हुदै गएका हुन् । विभिन्न कार्यक्रमको ब्यानर लेख्नुका साथै व्यवसायीक फर्महरु एवम् कार्यालयको होर्डीङ बोर्ड लेख्ने काम अहिले आधुनिकता संगै हराउन थालेको छ ।

सदरमुकाम बेनी बजारमा पुरानो सममा नाम चलेका आर्ट गर्नेहरुले अहिले त्यो पेशा तथा व्यवसायबाट बाहिरीएका छन् ।बेनी नगरपालिका–६ अर्थुङ्गेका सुरेन्द्र रानाले २०६१ देखि बेनी बजारको न्यूरोडमा थाल्नु भएको सुरेन्द्र आर्टमा अहिले सुरेन्द्र सहित चार जनाले काम गर्नुहुन्छ ।

गाउँबाट बजार झरेर बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ कि भन्दै थालेको व्यवसायमा उहाँ १८ वर्ष देखि टिकिरहनु भएको छ । सुरेन्द्र सुनाउनुहुन्छ–‘कुनै समय कठिन हुन्छ कि भन्दै जोखिम मोलेरै शुरु गरेको व्यवसायमा सिक्न आउनेहरु धेरै आए पनि उनीहरुले निरन्तरता दिएनन् तर अहिले सम्म म टिकेको छु चार जनालाई रोजगारी पनि भएको छ ।’

अहिले बेनी बजारको मुख्य केन्द्र बीरेन्द्र चोकमा ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गितका गायक गायिकाको चित्र हामीहरु नै कोर्दै छौं त्यसले पनि आम मानिसले कलाको बारेमा थाहा पाउने राना सुनाउनुहुन्छ ।

म्याग्दीको बेनी नगरपालिका–७ का पुराना आर्ट गर्नेमा सरोज श्रेष्ठले आफ्नो सरोज आर्ट बन्द गर्नुभयो । म्याग्दीमा व्यवसायीक रुपमा पहिलो आर्ट व्यवसायी सरोज पछि चितवनका एक व्यवसायीले म्याग्दीमा आएर शुरु गर्नुभएको एनके आर्ट पनि बन्द भएको दशक बित्न लाग्यो ।

त्यस्तै बेनी नगरपालिका–४ तातोपानीमा आर्ट गर्ने बिष्णुबहादुर खत्रीले अहिले आर्टका अलावा साउण्ड सिस्टमका साथै घडि रेडियो मोबाइल बिक्रि तथा मर्मत गर्ने गर्नुहुन्छ । तातोपानीमा व्यवसाय चलेन अनि मालिका गाउँपालिका–६ दरवाङमा आएर व्यवसाय नै केही परिमार्जन गरेरर नयाँ तबरले चलाएको छु–उहाँले भन्नुभयो ।

बेनीमा १५ वर्ष अगाडी सम्मका नामी आकर्षक चित्र कोर्ने र बोर्ड लेख्ने कला भएका बालकुमार रोका अहिले नेपालमै हुनुहुन्न। बिगतमा म्याग्दीको सदरमुकाम बेनी बजारमा राम आर्ट, सञ्जय आर्ट, प्रकाश आर्ट, श्रेष्ठ कला केन्द्र, बि रोका आर्ट, एनके आर्ट, सरोज आर्ट लगायतका झण्डै दर्शन कलात्मक चित्र कोर्ने क्षमता भएका फर्महरु थिए ।

हाल सुरेन्द्र आर्ट र भिजन आर्ट गरी दुई वटा मात्रै आर्ट सञ्चालनमा रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ । आर्टलाई पनि समय सापेक्ष परिमार्जनको खाँचो रहेको यसले पनि देखाउने उहाँको कथन छ ।

झापा घर भएका प्रेम तामाङले बेनी बजारमा व्यवसाय गर्न थालेको दोश्रो दशक चल्दै छ । झापाबाट म्याग्दी आएर भिजन आर्ट थाल्नु भएका उहाँले आर्टलाई मुख्य पेशा बनाउँदै गर्दा पनि फ्लेक्सले आफ्नो व्यवसायलाई गिजोलेको बताउनुहुन्छ । डिजिटल प्रिन्टले गर्दा हातले क्यानभासमा उतार्ने चित्रलाई बिस्थापित गरेको जस्तो हुने उहाँको कथन छ ।

अहिले छिटफुट रुपमा व्यक्तिगत तबरले आर्ट गर्नेहरुको संख्या भए पनि व्यवसायीक रुपमा काम गर्नेहरु नभएको सुरेन्द्र रानाको भनाई छ । भाइहरु आउँछन् सिक्छन् जान्छन् तर उनीहरुले व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन । आर्ट भन्दा पनि प्रिन्टलाई बढी प्राथमिकता दिने हुँदा समस्या भएको हो । प्रिन्ट भन्दा आर्ट टिकाउ हुने भए पनि प्रिन्ट तर्फको आकर्षणले गर्दा व्यक्तिमा भएको क्षमताको प्रयोग हुन नसकेको अवस्था छ।

Adv

Leave a Reply