पोखरा हुँदै पर्वतको मालढुंगाबाट शुरु भएको साइकल यात्रा म्याग्दीको बेनी, दरवाङ, ताकम, लुलाङ, गुर्जा हुँदै बागलुङको ढोरपाटन, वुर्तिवाङ, बागलुङ बजार हुँदै मालढुंगा पुगेर सकिएको छ ।

साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुनले एकहप्ता लामो साइकल यात्रा पुरा गर्नुभएको हो । गएको मङ्सिर १० गते शुरु भएको यात्रा १७ गते आएर सकिएको हो ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइ रहेको गुर्जामा पुग्न ५ दिन लागेको थियो । गुर्जा हुँदै ढोरपाटन उपत्यका पुगेर आइतबार बागलुङ बजार हुँदै साइकलमै मालढुंगा पुगेर त्यहाँबाट गाडीमा पोखरा फर्कीएको उहाँले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

पहिलो पटक सन १९८५ मा अल नेपाल साइकल यात्रा गर्दै माउण्टेन बाइकलाइ नेपालमा चिनाउने भुमिका खेल्नु भएका श्रेष्ठ उच्च पहाड तथा हिमाली क्षेत्रमा साइक्लिङ गरेर विश्व रेकर्ड राख्नु भएको छ ।

काठमाडौँका ६१ वर्षीय दिपक श्रेष्ठ र म्याग्दीको रुम डाँडागाउँ जन्मस्थान भई हाल ललितपुर बस्दै आउनु भएकी कमला पुन मगरले म्याग्दीको गुर्जा हुँदै ढोरपाटनलाई परिक्रमा गर्नु भएको हो ।

महिला भएर पनि साहसीक यात्रामा जाने भनेर ग्रामिण भेकमा महिला तथा बालिकाहरुले निकै खुशी भएका थिए कमला सुनाउनुहुन्छ । यो रुटमा साइकल यात्रा गर्नकालागि दुई वर्ष देखिको प्लानिङ गरेर बल्ल अहिले मौका मिलेको कमलाले बताउनुभयो ।

यस पहिला काठमाडौं देखि रारा ताल सम्मको यात्रा पनि गरिसकेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ विगतमा जति यात्रा गर्दा पनि नपाएको चर्चा र आनन्द मलाइ गुर्जा हुँदै ढोरपाटन पुग्दा मिलेको छ ।

कार्वन उत्र्सजन बिनाको यात्रा साइकल भएको हुनाले साइकल यात्रा निकै बेष्ट हुन्छ । सरकारले हप्तामा एक दिन मात्रै सरकारी गाडी बन्द गरेर पैदल वा साइकल यात्रा गर्न प्रोत्साहन गर्ने हो भने कार्वन उत्सर्जन कमी हुनका साथै स्वस्थ्यमा पनि केही प्रभाव पर्ने पुनको अपेक्षा छ ।

पोखराबाट साइकल यात्रा थाल्नु भएका उहाँहरुले पहिलो दिन पर्वतको मालढुङ्गा बास बस्नु भएका उहाँहरु दोस्रो दिन पश्चिम म्याग्दीको ताकम पुग्नु भएको थियो । ताकमबाट साइकल यात्रा थालेर तेस्रो दिन लुलाङ पुगेर चौथो दिन यात्रा थालेका उहाँहरु देउराली पुगेर बास बसेको दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै पाँचौ दिन गूर्जा पुगेपछि छैठौं दिन गुर्जाखानी बाट रुघाचौर पार गरेर रुघाघाट, सातौं ढोरपाटन हुँदै बुर्तीबाङ र आठौं दिन बुर्तिवाङबाट मालढुंगा पुगेर साइकल यात्रा सकिएको श्रेष्ठले जानकारी दिनुभयो । नेपालका पुराना तथा अनुभवी साइक्लिस्ट दिपक दाजु संगको यात्राले थप उर्जा मिल्यो र अझ यो यात्रा निकै रमाइलो र अविष्मरणीय चाँही पक्कै भयो कमला पुनले भन्नुभयो ।

कास्की हुदै थालेको यात्रामा पर्वत म्याग्दी पार गरेर बागलुङ सम्मको यात्रा हुँदा भेटेका उकाली ओराली एवम् घना जङ्गल, झरना तथा ग्रामिण बस्तीबाट साइकलमा यात्रा गर्दा स्थानीयबासीको न्यानो मायाँले समेत निकै उत्साह थपेको श्रेष्ठको भनाई छ । नेपालका विभिन्न भूभागमा पुगेर किर्तिमानी कायम गरेका श्रेष्ठसँगै साइकल यात्रामा आउनुभएकी कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै साइकलमै पुगेको बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको ढोरपाटन क्षेत्रमा साइकल यात्रु पुग्दा त्यहाँका बासिन्दा तथा जनप्रतिनिधिले पनि न्यानो स्वागत गरेको उहाँहरुले सुनाउनुभयो । साइकलयात्रीहरुले पोखरा, पर्वतको कुस्मा, मालढुङ्गा, म्याग्दीको बेनी बजार, गुर्जाखानी, रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका पुगरेर फर्किनुभएको हो ।

एक हप्ता लामो साइकल यात्रामा उहाँहरुले ढोरपाटन क्षेत्र समेत परिक्रमा गर्नु भएको हो । उहाँहरुलाई म्याग्दी धवलागिरी गाउँपालिका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा तथा बागलुङको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले स्वागत गर्नु भएको थियो ।

यहाँ पहिलो पटक साइकल यात्रा मार्फत ढोरपाटनको परिक्रामा गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । यसले पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने भन्दै ढोरपाटनमा साहसिक पर्यटनको पनि संभावना छ भनेर प्रचारप्रसारमा आएमा भूमिका खेलेको बताउनुभयो ।

Leave a Reply