खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।

आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै पुगेर १५ हजार ५५५ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बैदेशिक रोजगारीमा समस्यामा परेका म्याग्देली तथा उपचार सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य हरिकृष्ण गौतम, मोना कतारका पूर्व उपाध्यक्ष पुन्य चोखालले हिराकुमारीलाई रकम हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मोना कतारका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी ५ हजार सहयोग गरेका थिए ।

जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखालले आर्थिक सहयोग गर्ने संघसंस्था र ब्यक्तिलाई धन्यवाद दिईन् । उनले आर्थिक सहयोगलाई छोराछोरीको शिक्षादीक्षामै खर्च गर्ने बताईन् ।

यता मोना कतार बहुद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले बैदेशिक रोजगारीमा समस्यामा परेकालाई प्राथमिकताका आधारमा सहयोग गर्ने बताए ।

‘संस्था स्थापनाकालमै छ, हामीले सानो सहयोगमार्फत पीडितको घरसम्म पुग्ने प्रयास मात्रै गरेका छौ’ अध्यक्ष कार्कीले भने । उनले गैरकानुनी रुपमा बैदेशिक रोजगारीमा महिला दिदीबहिनीलाई जानुपर्ने अवस्थाको अन्त्य गर्ने सचेतनामुलक अभियान सहितका कार्यहरु गर्नुपर्ने बताए ।

Leave a Reply