---Advertisement---

कुवेतबाट फर्किएकी हिराकुमारी घर पुग्दा थामिएनन् आँशु

On: December 6, 2023 5:48 PM
Follow Us:

घरेलु कामदारको रूपमा भारत हुदैं कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाल बुधबार विहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान गणेशबहादुरले फुल दिएर स्वागत गरे ।

छोराछोरी विद्यालय नै नगई आफ्नो स्वागतमा बसिरहेको देखेर हिराकुमारी गहभरि आँसु बनाउँदै रुन थालिन् । कुवेतमा भोगेको मानसिक र शारीरिक यातनाले हिराकुमारीको उदास आँखा र भावविहीन अनुहार देखिन्थ्यो ।

गहभरि भरिएका आँसु,कुवेतीको यातनासँगै भारत हुदै जाँदा लिएर गएको एउटा सानो झोला बोकेर घर फर्किएकी हिराकुमारीलाई घर पुग्दा केहीबेर सन्नाटा छाएको थियो । उनलाई देखेर घरपरिवारसँगै आफन्त, छिमेकी सबै सबै स्तब्ध देखिन्थे। हिराकुमारीलाई भेट्दा उनका श्रीमान र आफन्तले आँशु थाम्न सकेनन् ।

जटिल रोगबाट ग्रसित श्रीमानको उपचारको क्रममा भारतमा नेपाली दलालले आकर्षक तलबको प्रलोभनमा पारेपछि श्रीमानलाई घर पठाएर उतैबाट कुवेत उडेकी हिराकुमारीलाई विगत पाँच महिनादेखि क्ुवेतीले भोकभोकै १८ घण्टासम्म काम गराउने, समयमै तलबसुविधा नदिने र माग्दा समेत कुटपिट गर्ने गरेको बताईन् ।

भारतबाट नेपाली दलाल ग्याल्पा लामाले कम्पनीमा काम गर्ने भन्दैपठाएको केही दिनमै एजेन्टले कुवेतमा बिक्री गरेका थिए। गैरकानुनी रुपमा कुवेत जानु भनेको मृत्युमार्ग रोजे जस्तै हुने बताउँदै हिराकुमारीले कुवेतीको घरमा काम गर्दा एकदिन राम्रोसँग सुत्न र मिठो खान समेत नपाएको बताईन् ।

सडेगलेका खानेकुरा खान दिने, काम नगरेको भन्दै कुटपिट गर्ने, मानसिक यातना दिन थालेपछि बाध्य भएर मिडियाको सहयोग लिएको र उद्धारका लागि सञ्चारमाध्यम वा आत्महत्या गर्ने दुईवटा बिकल्प मात्रै आफुँसँग रहेको हिराकुमारीको भनाई छ ।

घरमा स्वागतका लागि आएका छिमेकी र आफन्तलाई कुवेतमा पाएको पीडाको बयान गर्दै हिराकुमारी पटक–पटक भक्कानिएकी थिइन्। कुवेती एजेन्टले १ हजार डिराममा बजारमा सामान खरिद गरेजस्तै गरी कुवेतीको घरमा बिक्री गरेपछि कुवेतीको चरम यातना सहनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

धेरै नेपाली दिदीबहिनीहरू आँसु पिएर बाँच्नुपर्ने अवस्था रहेको हिराकुमारीको भनाई छ ।आफ्नो उपचारमा सहयोग गर्न र छोराछोरीको शिक्षादीक्षाका लागि कुवेत गएकी श्रीमति त्यहाँबाट फर्किएपछि निकै उत्साहित भएको श्रीमान गणेशबहादुर चोखालले बताए ।

साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरूलाई झनै समस्या हुने गरेको छ । करिब ८ महिनापछि आमाको काख पाउँदा छोराछोरी खुसी भएका थिए । आमाको अभावमा पढाईमा समेत समस्या भएकोमा अब निरन्तर पढाईमा ध्यान दिने छोरी पूर्णिमा चोखालले बताईन् ।

वैदेशिक रोजगारका भारतमा रहेका नेपाली एजेन्टहरुको आकर्षक कमाईको कहालीलाग्दो यात्राबाट कुवेत पुगेका धेरै नेपाली महिलाहरूले नारकीय जिवन विताइरहेका छन् । नेपाली एजेन्टले कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन समेत दिने गरेको पाइएको छ ।

हिराकुमारीलाई बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, स्थानीय यूवा पुन्य चोखाल, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।