नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन दिवा खाजा अनिवार्य गरेको छ।

सामुदायिक विद्यालय तर्फका सबै प्रारम्भिक बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समय अवधि भित्र दिनको एक पटक खाजा सुविधा पाइरहेका छन्।

विद्यालय दिवा खाजा विद्यार्थीका लागि आकर्षणको माध्यम पनि बनेको देखिन्छ। विद्यालय जान नमान्ने, ५ देखि ६ घण्टासम्म विद्यालय बस्दा सानो उमेरका बालबालिकालाई भोकले सताउने र पढ्न मन नलाग्ने समस्या थियो।

बाजुराका सबै सामुदायिक विद्यालयमा पनि दिवा खाजा सञ्चालनमा छ। दिवा खाजामा प्रयोग हुने खाद्यान्न र खाद्य बस्तु सबै बाहिरबाट नै प्याक सहित आउने गरेको छ। विद्यालयले पकाएर खुवाउने गरेका छन्। तर बडीमालिका नगरपालिकाले भने त्यसमा केही सुधार र फरक गर्ने योजना अघि सारेको छ।

सबैजसो जिल्लामा उपलब्ध सरोकार, सम्बन्धी निकाय र खाद्यान्न बाली तथा पोष्टीक आहार विज्ञहरुलाई राखेर स्थानीय रैथाने बालीलाई पनि प्रवर्द्धन गर्ने गरि खाजाको परिकार बनाउन प्रस्ताव गरिएको नगरप्रमुख अमर खड्काले बताएका छन्। बडीमालिका नगरपालिकामा २५ सामुदायिक विद्यालय छन्।

पालिकामा रहेका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने बडीमालिकाले नीति लिएको छ। अन्य खानेकुरा र खाद्यान्न भन्दा बढी हाइजेनीक र पर्याप्त रुपमा स्थानीयले नै उत्पादन गर्ने बाली भएकोले त्यसको प्रवर्द्धन, संरक्षण र बजारीकरणका लागि अनिवार्य गर्न लागिएको नगर प्रमुख खड्काको भनाई छ।

‘स्थानीय रैथाने बालीको संरक्षण र बजारीकरण पनि गर्नु छ, त्यसैमा कोदो बढी नै पोष्टीक तत्त्व पाइने खाद्यान्न बाली भएकोले हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार दिवा खाजामा राख्न लागिएको हो’, प्रमुख खड्काले भने। पालिकाले कृषि ज्ञान केन्द्र बाजुरासँग पनि त्यसका लागि समन्वय र सहकार्य गरेको छ।

बडीमालिका नगरपालिकाले गरेको प्रस्तावमा कृषि ज्ञान केन्द्रले अगुवाइ नै गर्ने इच्छाशक्ति देखाएको छ। जिल्ला स्थित गैर सरकारी संस्थाले समेत समर्थन गरेका छन्। विश्व खाद्य कार्यक्रमले यो निर्णय दीर्घकालीन योजना सहित स्थानीय बाली प्रवर्द्धनका लागि सहयोग पुग्ने बताएको छ।

स्वास्थ्यका लागि फाइदा पुग्ने र स्थानीय उत्पादनले पनि बजार पाउने भएकै कारण कोदोको परिकारलाई दिवा खाजामा समावेश गर्ने नीति पालिकाले लिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छिन्।

कोदोको परिकार दिवा खाजाका रुपमा प्रयोग गर्ने कुरा अन्य पालिका र विद्यालयका लागि पनि नयाँ सन्देश र सिकाइ हुने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए।

बाजुराको रैथाने बाली कोदोको खपत र बजारीकरणमा टेवा पुग्ने भएपछि प्राविधिक सहयोग र उत्पादनको सीमा बढाउने गरि कृषि ज्ञान केन्द्रले योजना अघि बढाउने जैशीको भनाई छ।

बाजुरा कोदोका लागि उर्वर भूमिकै रुपमा परिचित छ। त्यसैमा बडीमालिका नगरपालिका भित्र कोदो उत्पादन नै बढी हुने गर्छ।

Leave a Reply