म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६घार खिम्जाका कमलप्रसाद बरुवालले संयुक्त अरब ईमिरेट्स (युएई) को जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन अपिल गरेका छन् ।

 

वैदेशिक रोजगारीको सिलसिलामा बि.स २०७४ सालमा यूएई पुगेका ३० वर्षीय सुरज बरुवाल सवारी दुर्घटनामा जेलमा रहेको भन्दै छुटाएर नेपाल ल्याउने पहल गरिदिन अनुरोध गरेका हुन् ।

गएको साउन १ गते ट्याक्सी कम्पनीको उजुरीमा पक्राउ परेका बरुवालको परिवारले अभियोग र त्यहाँको नीति नियम र कानुनको बारेमा जानकार नहुँदा घर फिर्तीमा समस्या भएको बताएका छन् ।  ‘जेलबाट छुटाउनका लागि पनि ऋण खोजेर साढे ५ लाख पठाइसकेका छौ,पैसा लैजानेले समेत अहिले विभिन्न बाहना बनाइरहेको छ’ कमलप्रसादले भने ।

उनका अनुसार सुरजको चिनजनाको साथीलाई दुईपटक पैसा पठाएपछि अहिले विभिन्न बाहना बनाउने गरेको बताए ।ब्लडप्रेसर, सुगर र पिसान सम्बन्धि समस्याबाट ग्रसित छोरालाई जेलभित्र निकै समस्या भएकाले उद्धार गरी घर फर्किने वातावरण बनाइदिन कलमप्रसादले त्यहाँ रहेका म्याग्देली, नेपाली संघसंस्था र नेपाली दुतावासलाई अपिल गरेका छन्।

‘मेरो छोरा बिरामी छ,दैनिक मुखबाट रगत बग्छ, खर्च पनि छैन भन्दै रुदै फोन गर्छ’ कमलप्रसादले भक्कानिदैं भने । जेलमा परेको कारण समेत अहिलेसम्म परिवारका सदस्यलाई जानकारी छैन । नेपाल फर्काईदिन गुहार माग्दैं नेपाल दुतावाससम्म पुग्न सक्ने अवस्था नभएकाले प्रवासमा रहेका म्याग्देलीलाई सहयोगको अपिल गरिएको कमलप्रसादको भनाई छ ।

अरेबियन ट्याक्सी कम्पनी छोडेर बसेको अवस्थामा पासर्पोटको म्याद पनि सकिएको अवस्थाको समेत उनले बताए । सुरज यूएईको आजमान जेलमा रहेका छन । कमलप्रसादको दुई छोरा, एक छोरी छन् ।

Leave a Reply