उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यलाई बलियो बनाउने बताएका छन् । वामपन्थी शक्तिहरूबीच एकतालाई अहिलेको समाजबादी मोर्चाले नेतृत्व गर्ने बताए ।

समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले माओवादी केन्द्र, एकीकृत समाजवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बाहेक पनि अन्य कम्युनिस्ट पार्टीसँग सहकार्य गरिने बताए ।

मन्त्री बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताए । नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाए ।“अबको दुई वर्षभित्र नेपालले बिजुली आयात गर्दैन् । बिजुली निर्यात मात्र गर्ने अवस्था बनाउदैछौ ।” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले गत वर्ष नेपालले रु. दश अर्बको बिजुली बेचेर रु. बीस अर्बको आयात गरेकोमा यसपाली बिजुली निर्यात बढ्ने र आयात घटेको बताए । हालसम्म रु. १४ अर्बको बिजुली निकासी भइसकेको र वर्षको अन्तसम्म यो रु. १८ अर्ब पुग्ने मन्त्री बस्नेतले बताए । यो वर्ष रु. एघार अर्बको मात्र बिजुली आयात हुने मन्त्री बस्नेतको दावी छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा स्थानीयलाई सेयर लगानीको व्यवस्था मिलाउने मन्त्री बस्नेतले जानकारी दिए । संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउदै नागरिकलाई अधिकार सम्पन्न गराउने प्रयासमा सरकार रहेको मन्त्री बस्नेतको भनाई थियो ।

समाजवादी मोर्चाका केन्द्रिय सचिव तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले संविधान र लोकतन्त्रलाई संस्थागत गर्न प्रगतिशिल शक्तिहरुबीच सहकार्य हुनुपर्ने बताए ।  संघीय व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउदै नेपालमा राजतन्त्र फर्काउने खेल सफल नहुने र लोकतन्त्रको विकल्प नभएको हमालको भनाई थियो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दी जस्तो दुर्गम र विकट जिल्लाका लागि संघीय व्यवस्था वरदान सावित भएको बताए । “म्याग्दीको गुर्जा बाहेक सबै ठाउँका साढे बाईस सय घरमा विद्युतिकरण गर्न रु. बीस करोड ५१ लखको ठेक्का सम्झौता भएर काम शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारबाट मात्र म्याग्दीमा यस वर्ष सडक स्तरोन्नति र पुलका लागि रु. एक अर्ब २५ करोडको बहुबर्षीय ठेक्का लाग्दैछ,” उनले भने । “हिजो एउटा गाविसमा रु. २५–३० लाख बजेट आउँथ्यो । अहिले एउटै वडामा करोड भन्दा बढीको योजना भित्रिएको छ । विकासको गतिबिधि गाउँगाउँमा बढेको छ । सहरको बिकास गाउँमा पुग्न थाल्नुनै संघीयताको उपलब्धी हो ।”

कार्यक्रममा नेकपा रणविर (सि), भरत (सि), नेकपा एकिकृत समाजवादीका गोविन्द सुवेदी र कृष्णकुमार विश्वकर्माले मन्तब्य व्यक्त गरेका थिए । मोर्चाको आवश्यकता र योजनाको विषयमा नेता कार्यकर्ताहरुलाई जानकारी गराउदै प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपाका नेता गोपाल पौडेलले बताए ।

 

Leave a Reply