भौतिक पूर्वाधारको विकास भएसँगै म्याग्दीको टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । टोड्केसम्म पुग्ने सडकको पहुँच विस्तार, खान र बस्नको लागि सामुदायिक लजको निर्माण, हरियाली पार्क तथा भ्यू–प्वाइन्टसहितका भौतिक संरचनाहरुको विकास भएपछि टोड्के पर्यटकीय गन्तव्य बन्दै गएको हो । 

समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केबाट मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरूको विस्तार भएसँगै पछिल्लोपटक टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेको हो । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केले धार्मिक तथा पर्यटकीय महत्व समेत बोकेको छ । 

अहिले पर्यटकीय क्षेत्र टोड्के मनोरम दृश्यावलोकनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के पर्यटकीय गन्तव्य बनेको स्थानीयवासी बताउँछन् । पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल विस्तार भएपछि टोड्के पुग्न सहज भएको छ । 

 

माघदेखि वैशाख महिनासम्म लालीगुराँस ढकमक्कै फुलेर राताम्य हुने टोड्के क्षेत्रमा विभिन्न समयमा वनभोज खानका लागि मानिसहरु पुग्ने गर्दछन् । टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका अधिकांश हिमालहरूसहित मानापाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेन लगायत हिमशृङ्खला देखिन्छन् ।

 टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागसहित हिमालपारीको जिल्ला मुस्ताङ तथा पर्वत र बागलुुङको डाँडाकाँडाहरु समेत देखिन्छ । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वनजङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको अर्को विशेषता हो ।   पर्यटकलक्षित सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि अहिले दैनिकजसो पर्यटकहरू टोड्केमा पुग्ने गरेका छन् ।

 टोड्केको भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि टोड्के आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय व्यवसायीले बताउछन्। टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरूलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिन्छ । 

अहिले पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र र हरियाली पार्क निर्माणाधीन अवस्थामा रहेको छ भने रिसोर्टमार्फत कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ । 

 

थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादी रहित मुलाको खेती गर्दै आएका छन् । टोड्केमा पर्यटकको आगमन बढाउन सडक सञ्जालको स्तरोन्नति आवश्यक रहेको रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो । 

Leave a Reply