---Advertisement---

जेसिज कप फुटबलको उपाधी वेष्ट पोइन्टको पोल्टामा

On: December 10, 2023 6:22 PM
Follow Us:

२१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट पोइन्ट आवसीय माविले हात पारेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्ट र माउण्ट एभरेष्टले निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

पहिलो र दोस्रो हाफमा दुबै समुहले सुन्दर गोलका अवसर गुमाएका थिए ।पेनाल्टी सुटआउटमा माउण्ट एभरेष्टका सुशिल पुनको प्रहारलाई न्यू वेष्ट पोइन्टका गोलरक्षक शिद्धार्थ पाइजाले रोकेपछि खेलमा माउण्ट दवावमा परेको थियो ।

खेलमा न्यू वेष्ट पोइन्टका खेलाडीको पेनाल्टी समेत माउण्टका गोलरक्षक अनिश शेरचनले बचाउ गरेका थिए । पेनाल्टीमा माउण्टका गोलरक्षक शेरचनले उपाधीका लागि भरपुर प्रयास गरेपनि खेलाडीको लय बिग्रिदा उपाधी न्यू वेष्ट पोइन्टको हातमा परेको थियो । यो संगै न्यू वेष्ट पोइन्ट जेसीज कपको इतिहासमा सबैभन्दा धेरै ६ पटक जेसीजक जित्ने विद्यालय भएको छ ।

राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका विजेतालाई प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकका प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्ण विक लगायतले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा म्यान अफ दी म्याच न्यू वेष्ट पोइन्टका घनिष्ट छन्त्याल,अनुशासित विद्यालय हेम मावि सिवाङ, राईजिङ खेलाडी माउण्ट एभरेष्टका सुशिल पुन, खेल अवधिमा ९ गोल गदैं सर्वाधिक गोलकर्ता न्यू वेष्ट पोइन्टका सनम थापा, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिकका अनिश भण्डारी, उत्कृष्ट स्टाइकर माउण्ट एभरेष्टका समन विक,उत्कृष्ट गोलरक्षक न्यू वेष्ट पोइन्टका सिद्धार्थ पाइजा,उत्कृष्ट कोच न्यू वेष्ट पोइन्टका दिपेन राई र उत्कृष्ट खेलाडी न्यू वेष्ट पोइन्टका पवन खत्रीलाई जनही नगद रु २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

सेमिफाईनलिष्ट बेनी सामुदायिक मावि र हेम मावि सिवाङलाई नगद रु ५÷५ हजार प्रद्यान गरिएको थियो । जिल्लाका विभिन्न २३ विद्यालयले सहभागीता जनाएको प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानीयांले बताए । जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।