राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका भूतपूर्व सैनिक संगठनका अध्यक्ष झलप्रसाद गौचनको निधन भएको छ । गएको मंसिर १९ गते विहान कालिपुलस्थित कर्वड हलमा ब्याडमिन्टन खेल्ने क्रममा नाकबाट रगत बगेपछि घर जान निस्किनुभएका गौचन अचानक बेहोस भएर ढल्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिको प्रवेशद्धारमा अचेत अवस्थामै तत्काल सीपीआर विधि अपनाएपनि होस नखुलेपछि बेनी अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाण्डौका ग्रान्डी अस्पतालमा उपचारको क्रममा मंसिर २२ गते चिकित्सकले मृत घोषित गरेका थिए । ब्याडमिन्टन खेलसँगै नियमित शारीरिक अभ्यास गर्दै आउनु्भएका गौचनको मुटु र ब्लडप्रेसरको समस्या थियो ।

हेलिकप्टरबाट अस्पतालमा लगिएको गौचनको अस्पतालमा पुग्दासम्म मुटु, मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग काम गर्न नसक्ने अवस्थामा पुगेको थियो । तीनदिनसम्म भेन्टिलेटरमा कृत्रिम सास दिएर उपचार गरिएको थियो । सदरमुकाम बेनीस्थित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका गौचन बेनी नगरपालिकाका निर्वतमान कार्यपालिका सदस्य समेत हुनुहन्छ ।

राजनीतिक, खेलकुदसँगै सामाजिक कार्यमा समेत सक्रिय गौचनको निधनले राप्रपलाई अपूरणीय क्षति पुगेको जिल्ला अध्यक्ष बिरबहादुर थापाले बताउनुभयो। उहाँले पार्टीप्रति निष्ठा, निरन्तरता र इमान्दारी भएको नेतालाई गुमाएको बताउनुभयो ।

आइतबार थकाली धार्मिक विधि अनुसार कालिगण्डकी नदीमा अन्त्येष्टी अगाडी पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिदैं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले झलप्रसाद आँखामा राख्दा नबिझाउने नेता भएको बताउनुभयो । गौचनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नुभएको थियो । सिद्धान्तप्रतिको निष्ठा, राजनीतिक चेतना, पार्टी, भुपु सैनिकका समस्याहरु समाधानमा सक्रिय हुने गौचनको निःस्वार्थ एवम् असीमित समर्पण सधै सम्झना हुने राज्यमन्त्री गौचनको भनाई छ ।

 

Leave a Reply