म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा सोमबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ। पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए।

भक्तजनहरुलाई सहज रुपमा पुजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पुजा गर्ने व्यवस्था मिलाइएको थियो ।भक्तजनलाई नेपाल प्रहरी, जनपथ प्रहरी, गलेश्वर आर्दश माविका विद्यार्थी लगायत विभिन्न संघसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन् ।

अनुकुल मौसम र सहज ब्यवस्थानका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए । पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका एक दर्जन भन्ना बढी सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको थियो ।

शिवरात्रीका दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गरिन्छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने चलन छ ।

हजारौ भक्तजन भएपनि मन्दिरमा पूजाआजा र सुरक्षा रहेको, भिडभाडमा चोरी हुने जोखिमले स्वयंसेवक परिचालन गरिएकाले सजिलै पूजा गरी फर्किएको भक्तजनको भनाई छ ।

बालाचतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । शतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शतबीज छर्ने चलन छ ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आउँछन् । यसबर्ष करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको छ । गलेश्वरमा रातभरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीपदानसहित शतबीज छर्ने प्रचलन रहेको छ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । गलेश्वर मन्दिरमा कालिगण्डकी नदीबाट जल लिएर स्नान गर्ने सुविधाले समेत भक्तजनलाई सहज भएको छ ।

Leave a Reply